PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

पर्यटकलार्इ आकर्षण बढाउँदै कुश्माका अग्ला पुल



पहिलोपोस्ट

पर्यटकलार्इ आकर्षण बढाउँदै कुश्माका अग्ला पुल

पर्वत : मुलुककै आकर्षक गुफा, विश्वकै ठूलो शालिग्राम, पञ्चासे ताल जस्ता आकर्षकस्थल रहे पनि पर्वतमा पर्यटक तान्ने गतिलो माध्यम नेपालकै अग्ला झोलुङ्गे पुल बन्न थालेका छन्।

विसं २०४५ देखि कुश्मा र ज्ञादी जोड्ने झोलुङ्गे पुलको कल्पना गरिए पनि २०६७ सालमा आएर मात्रै यस्ता पुल नेर्माण भएका थिए। नेपालकै अग्लो पुलका कारण पर्यटकको आकर्षण बढ्दै जाँदा अहिले झनै अग्ला र लामा पुल थपिएका छन्।

पर्वतमा कुश्मा–ज्ञादी झोलुङ्गे पुलसँगै थप अग्ला कुश्मा–कैया र कुश्मा–मुडिकुवा जोड्ने पुल बनेपछि अहिले यहाँ आउने आन्तरिक पर्यटकको संख्या बढेको छ।


अग्ला पुलमा दैनिक अवलोकन र घुम्न आउनेको संख्या बढ्दो छ। बिदाको दिन भरिभराउ हुन्छन्। कुश्मा–ज्ञादी पुल आठ वर्षअघि, कुश्मा–कैया पुल चार वर्षअघि थतथा कुश्मा–मुडिकुवा पुल गत मंसिरदेखि सञ्चालनमा आएको हो। अहिले तीनवटै अग्ला पुलको दैनिक पाँच हजारभन्दा बढीले अवलोकन गर्ने गरेका छन्। बिदाको दिनमा सात हजारभन्दा बढीले आवतजावत र अवलोकन गर्ने गरेका छन्।
 

अहिले आन्तरिक तथा बाह्य पर्यटक पुल अवलोकन गर्न आउने क्रम बढ्दै गएको स्थानीयवासी बताउँछन्। पछिल्लो समय मुस्ताङ गएका अधिकांश पर्यटक कुश्माका अग्ला पुलको अवलोकन गरेर मात्रै फर्किने गरेका पर्यटन व्यवसायी विषमकुमार श्रेष्ठले बताए।

पुल सर्वसाधारणलाई आवतजावत गर्न सहजताका लागि निर्माण भए पनि अवलोकन गर्नका लागि पर्यटक आउँदा वरपरका व्यापार व्यवसायसमेत फस्टाएको छ। अहिले तीनवटै पुल वरपर दुई दर्जन बढी होटल तथा रेष्टुराँ सञ्चालनमा आएका छन्। पुल निर्माणपछि त्यस क्षेत्रको जग्गाको मूल्यसमेत बढेको श्रेष्ठले बताउछन्।

कुश्मा–ज्ञादी पुल मुलुककै सबैभन्दा अग्लो र लामो झोलुङ्गे पुलमा चर्चित छ। यो पुल २०६७ सालदेखि सञ्चालनमा आएको हो। कुश्मा–कैयाँ पुल २०७० फागुनदेखि सञ्चालनमा आएको हो। यो झोलुङ्गे पुलका कारण बागलुङ नगरपालिका र कुश्मीशेरा नगरपालिकाका बासिन्दा लाभान्वित भएका छन्। कालीगण्डकी नदीमाथि बनेको ३४७ मिटर लामो र १५६ मिटर उचाइमा रहेको पुल एक करोड ५६ लाखको लागतमा निर्माण गरिएको हो। कुश्मा–मुडिकुवा पुलले कुश्मालाई फलेवास नगरपालिका, पैञ्यूँ, बिहादी र महाशिला गाउँपालिकासँग जोडेको छ। मोदीखोला माथि बनेको सो पुलको लम्बाइ ३५९ मिटर र उचार्इ १५५.७० मिटर रहेको छ। यो पुल एक करोड ७६ लाख ९९ हजारमा निर्माण भएको हो।

यस्तै केबुलकार मोडेलको कुश्मा–बलेवा यान्त्रिक पुल २०६९ सालदेखि सञ्चालनमा आएको छ। पर्वत उद्योग वाणिज्य संघको पहलमा निजी क्षेत्रको लगानीमा निर्माण भएको यस पुलमा शुल्क तिरेर मात्रै आवतजावत गर्न सकिन्छ।

झण्डै पाँच करोडको लगानीमा निर्माण भएको यो पुलमा दैनिक ५०० भन्दा बढीले आवतजावत तथा अवलोकन गर्ने गरेका छन्। कालीगण्डकी नदीमाथि बनेको उक्त पुलले एक घण्टाको दूरीलाई पाँच मिनेटमा झारेको छ। यो पुल २६२ मिटर उचाइमा बनेको छ।

यी पुलमा नियमित आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि विभिन्न संरचना निर्माण गर्न आवश्यक रहेको पर्यटन व्यवसायी श्रेष्ठको भनार्इ छ। मुडिकुवा–कुश्मा पुलका कारण अहिले फलेवास क्षेत्रमा उत्पादन भएको दूध, तरकारी, फलफूललाई बजारसम्म पुर्‍यउन सहज भएको छ। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell