काठमाडौं : भोलि हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि सबै निकायले तयारी पूरा गरेका छन्। निर्वाचन आयोग, गृह मन्त्रालय र नेपाल प्रहरीले बेग्लाबेग्लै पत्रकार सम्मेलन गरेर भोलिको निर्वाचनको सबै तयारी पूरा भएकाले भयरहीत वातावरणमा निर्धक्क भएर मतदान गर्न आह्वान गरेका छन्।
एकै वर्षमा तीनवटा तहको निर्वाचन गर्नुपर्ने दायित्वमा रहेको निर्वाचन आयोगले अन्तिम तयारीबारे जानकारी दिँदै आफ्नो जिम्मेवारी पूरा हुन लागेको जनायो। आयोगले निर्वाचनका लागि सबै तयारी पूरा भइसकेको बताउँदै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, 'सरकारले सुरक्षा मजबुत बनाएकाले मतदानमा सरिक भई आफूले चाहेको उम्मेदवार तथा राजनीतिक दललाई मतदान गर्न अनुरोध गर्दछु।'
उनले अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा विरामी मतदातालाई प्राथमिकताका साथ मतदानको व्यवस्था मिलाउन मतदानमा अधिकृतहरुलाई निर्देशनसमेत दिएका छन्।
भोलि प्रतिनिधिसभा सदस्यका लागि ४५ जिल्लाका १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ क्षेत्रमा मतदान हुँदैछ। ७ हजार ७५२ मतदानस्थलका १५ हजार ३४४ मतदान केन्द्र तोकिएको छ।
निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ १ हजार ६६३ र प्रदेशसभा सदस्यतर्फ २ हजार ८१९ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्। निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन्।
आयोगसँग गृह मन्त्रालयले पनि सुरक्षा व्यवस्था पूरा गरिएको जानकारी गराएको छ। गृह मन्त्रालयले पत्रकार सम्मेलन गर्दै सुरक्षित रुपमा सबैले मतदान गर्नसक्ने अवस्था तयार पारिएको जानकारी दिएको हो।
'निर्वाचन शान्तिपूर्ण हुने गरी सुरक्षा निकायले तयारी पूरा गरेको छ,' गृह सचिव सापकोटाले भने, 'डर त्रास फैलाउने र आपराधिक गतिविधि गर्नेलाई नियन्त्रण गर्न रणनीति बनाएका छौं।'
उनका अनुसार कुनै पनि घटना भयो भने १० देखि ३० मिनेटभित्र सुरक्षाकर्मी पुगिसक्नेछन्। आज मध्यरात १२ बजेबाट भोलि निर्वाचन सकिएको दुई घन्टापछि अर्थात् साँझ ७ बजेसम्म सार्वजनिक सवारी र निजी सवारीसाधन समेत चलाउन पाइने छैन। गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मार्फत् अति आवश्यक क्षेत्रका लागि भने सवारी अनुमतिपत्र जारी गरिसकेको छ।
यसैबीच नेपाल प्रहरीले पनि पत्रकार सम्मेलन गरेर सुरक्षा व्यवस्था चुस्त बनाइएको जानकारी गराएको छ। चुनावमा कहीँ केही भएमा पाँच मिनेटमा सुरक्षाकर्मी पुग्ने व्यवस्था मिलाइएको नेपाल प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता मनोज न्यौपानेले चुनावअघि भएका विष्फोट आतंक सिर्जना गर्ने अभिप्रायले मात्र गरिएको भन्दै केही ठाउँमा मात्र विस्फोटक पदार्थ प्रयोग भएको दावी गरे।
न्यौपानेले एक मतदानस्थलमा ५६ जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए। त्यसैरी, थप सुरक्षाकर्मी र हवाई सुरक्षा गस्तीकोसमेत व्यवस्था मिलाइएको उनले बताए।