PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

यी हुन् ५० हजारभन्दा बढी मत ल्याएर विजयी हुने उम्मेदवार



पहिलोपोस्ट

यी हुन् ५० हजारभन्दा बढी मत ल्याएर विजयी हुने उम्मेदवार

काठमाडौं: प्रदेश तथा प्रतिनिधिसभा चुनावको मतगणना सार्वजनिक भइरहँदा ५० हजारभन्दा बढी मत ल्याएर विजयी हुने उम्मेद्वारहरु हालसम्म तीन जना छन्। दोलखाबाट वाम गठबन्धनका उम्मेदवार पार्वत गुरुङ, झापा ५ बाट केपी शर्मा ओली, काभ्रेपलाञ्चोक २ बाट गोकुल बास्कोटाले ५० हजारभन्दा बढी मत ल्याएर विजयी भएका छन्।


पार्वत गुरुङ

दोलखाबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट एमालेका पार्वत गुरुङले निकतम प्रतिस्पर्धी कांग्रेसका रुद्र बहादुर खड्कालाई भारी मतान्तरले पराजित गरे।  

गुरुङले कुल सदर मतमध्ये ५५ हजार ९५४ मत पाए। निकटतम प्रतिस्पर्धी कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत पाए। गुरुङ र खड्काको मतान्तर ३० हजार १५३ रह्यो यो मतान्तर जारी मतगणनाको सबैभन्दा ठूलो अन्तर हो। गुरुङ लगातार दोस्रो पटक केन्द्रीय संसद् सदस्यमा चुनिए।

एक लाख ४७ हजार मतदाता रहेको दोलखामा ८८ हजार मत खसेको थियो। जसमध्ये पार्वतले ६२ प्रतिशत मत पाएका हुन्।


केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि ५७ हजार १३९ मत ल्याएर विजयी भए। ओलीले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर विजयी भएको रेकर्ड बनाएका छन्।

झापा क्षेत्र नम्बर ५ मा कांग्रेसका खगेन्द्र अधिकारीलाई ओलीले दोब्बर मत अर्थात् २८ हजार ८४२ मतान्तरले पराजित गरे। अधिकारीले २८ हजार २९७ मत पाए।


गोकुल बास्कोटा

काभ्रेपलान्चोक २ मा वाम गठबन्धनकै उम्मेदवार गोकुल बास्कोटा ५४ हजार ४२७ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी मधुप्रसाद आचार्यले ३६ हजार ५७९ मत ल्याए। आचार्य भन्दा बास्कोटाले १७ हजार ८४८ मत ल्याए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell