काठमाडौं : सत्तामा सधै रहने र स्थायी उप प्रधानमन्त्रीका रुपमा चिनिएका विजय कुमार गच्छदार र नेकपा एमालेका नेता भगवती चौधरीबीचको चुनावी मत गणना रोचक बन्दै गएको छ। मत परिणाममा देखिएको रस्साकस्सीले यतिखेर सुनसरी ३ ले धेरैको ध्यान खिचेको छ। मत गणनामा विवाद निस्किएपछि परिणाम कुन दिशातिर जान्छ भन्न सकिन्न।
आज बिहान १० बजेसम्म भगवती चौधरीले मत गणनामा लिड गरेकी छिन्। उनले २९ हजार ३ सय २६ मत ल्याएकी छिन्। विजय कुमार गच्छदारले २९ हजार १ सय ७१ मत ल्याएका छन्। यति धेरै मत ल्याउँदा यी दुई बीच जम्मा १ सय ५५ मतको मात्र अन्तर छ।
तीन दिन अघिदेखि सुरु भएको सुनसरी ३ को मतगणना अहिले रोकिएको छ। कडा प्रतिस्पर्धा भएकाले पनि चुनावी परिणाम रोमाञ्चक हुने देखिएको छ भने तनाव पनि उत्तिकै बढाएको छ।
शनिबार बिहान १० बजे सुरुवाती मत परिणाम सार्वजनिक हुँदा भगवती चौधरीले अग्रता लिइन् जुन अहिलेसम्म जारी छ। त्यतिखेर उनले ५ हजार १ सय ३८ पाउँदा गच्छदारको भागमा ३ हजार ७ सय ७ मतमात्र थियो।
शनिबार दिउँसो २ बजे चौधरीले ८ हजार ५ सय ८८ मत जोड्दा पछाडि पर्दै गएका थिए गच्छदार। उनले त्यतिखेर ६ हजार ५ सय २१ मतमात्र ल्याएका थिए।
शनिबार राति १० बज्दा भगवती चौधरीको मत ११ हजार ८ सय ७१ पुग्यो भने गच्छदारको ९ हजार ४ सय २१।
ठीक १२ बजे चौधरीले आफ्नो अग्रता कायम राख्दै १३ हजार २ सय ३८ ल्याइन्। गच्छदार उनलाई पछ्याउँदै १० हजार ८ सय ६१ मतमा थिए।
आइतबार बिहान ७ बजे मत गणनामा भगवती चौधरीले अन्तर फराकिलो पारी नै रहिन्। चौधरीले १६ हजार १ सय २२ मत ल्याउँदा गच्छदारसँग १३ हजार ८ सय ६६ मतमात्र थियो।
आइतबार मध्यान्न १२ बज्दा परिणामको ट्रेन्डमा केही 'ट्विस्ट' आउन थाल्यो। त्यतिखेरको अपडेटमा चौधरीले १८ हजार ८ सय मत ल्याउँदा गच्छदारको खातामा पनि १७ हजार २ सय ८३ मत पुग्यो। आइतबार साँझ ६ बज्दा मतान्तर थप खुम्चिन थाल्यो। चौधरीले २१ हजार ६ सय ६५ मत ल्याउँदा गच्छदारले २० हजार ६ सय ८८ मत ल्याएका थिए। हजार कम मतान्तर देखिन थाल्यो यहाँबाट।
राति ८ बज्दा चौधरीले २३ हजार १ सय ३ मत पुर्याउँदा गच्छदार पनि २२ हजार २ सय ४९ मत ल्याउन सफल रहे। राति ११ बज्दा दुरी अझ कम भयो। चौधरीले २४ हजार ६ सय ५४ मत ल्याउँदा गच्छदारले २३ हजार ८ सय ३७ मत ल्याए।
सोमबार बिहान ३ बजे मत परिणाममा गच्छदारले दुरी थप घटाए। चौधरीले २६ हजार २ सय १९ मत ल्याउँदा गच्छदारको पोल्टामा २५ हजार ६ सय २० रह्यो। बिहानसम्म सुरुवाती अंक समान बनाउने होडमा पुगे गच्छदार। चौधरीले २७ हजार ७ सय १२ मत जोड्दा गच्छदार पनि २७ हजार ४ सय ४१ मतसहित नजिकै पुगे ।
बिहान १० बजे चौधरीले २९ हजार ३ सय २६ मत पुर्याउँदा गच्छदारले २९ हजार १ सय ७१ मत जोड्दै कडा टक्कर दिए। यहाँ आइपुग्दा यी दुईबीच १ सय ५५ मतको अन्तर छ। १ लाख ९ हजार ९ सय १७ कूल मतदाता रहेको यस क्षेत्रमा हालसम्म ६४ हजार २ सय ३१ मत गणना भइसकेको छ।