काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल) मा चितवन टाइगर्सको कप्तानी पृथु बास्कोटाले गर्ने भएका छन्। सोमबार आइडिएस ग्रुपले चितवन टाइगर्सको कप्तान, प्रशिक्षक र म्यानेजर घोषणा गर्दै पृथुलाई कप्तान नियुक्त गरेको जानकारी दिएको हो।
चितवन टाइगर्सका मालिक तथा आइडिएस ग्रुपका अध्यक्ष किशोर भट्टराईले विदेशी खेलाडीलाई कप्तान बनाउने तयारी गरिए पनि विदेशी खेलाडीसँग समयमै कन्ट्रयाक्ट हुन नसक्दा पृथुलाई कप्तान चयन गरिएको बताए। ‘इन्टरनेशनल प्लेअरलाई कप्तान बनाउने सोचेका थियौँ। तर एनओसी नपाएको र विदेशी खेलाडीले पनि अफ्ठ्यारो मानेका कारण पृथुलाई कप्तान नियुक्त गरेका हौँ।’
पृथुसँग नेपाललाई विभिन्न एज ग्रुपमा नेतृत्व गरिसकेको अनुभव छ। उनकै कप्तानीमा नेपालले एसीसी यू-१५ र एसीसी यू-१७ को उपाधि जितेको थियो भने सन् २००२ मा पृथुकै कप्तानीमा नेपाललले आइसीसी यू-१९ विश्वकप खेलेको थियो। साथै पृथुलसँग राष्ट्रिय टोलीबाट खेलेको अनुभव पनि छ।
यस्तै टोलीको प्रशिक्षकका कलाम अली र दीपेन्द्र चौधरीलाई चयन गरिएको भट्टराईले जानकारी दिए। कलामकै प्रशिक्षणमा पहिलो संस्करणको इपीएलमा पञ्चकन्या तेज च्याम्पियन बनेको थियो। यस्तै यू-१९ एसिया कपमा भारतलाई हराउँदै पहिलो पटक नेपाल सेमिफाइनल पुग्दा कलाम सहायक प्रशिक्षक थिए।
पृथुसँगै यू-१९ विश्वकप खेलेका राष्ट्रिय टोलीमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका सुवास खकुरेललाई चितवन टाइगर्सले म्यानेजर नियुक्त गरेको छ। अक्सनबाट किनेका सुवासको हातमा लागेको चोट पूर्ण रुपमा ठिक नभएका कारण उनले टोलीबाट आफ्नो नाम फिर्ता लिएका थिए र उनको स्थानमा अनिल मण्डललाई टिममा राखिएको छ। अनिल मण्डललाई इपीएलको अक्सनमा कुनै पनि टिमले किनेको थिएन।
‘सुवासलाई टिममा आबद्ध गरिसकेकपछि उनलाई छाड्न नसकेका कारण हामीले टिममै राखेका हौँ। र उनको उपस्थिती र व्यवस्थापनले पनि टिममा ठूलो हौसला मिल्ने विश्वास लिएका छौँ।’ अध्यक्ष किशोर भट्टराईले भने।
चितवन टाइगर्सले भारतबाट तीन विदेशी खेलाडी ल्याउने भट्टराईले जानकारी दिए। यसअघि आइपीएल खेलिसकेका खेलाडीसँग छलफल भएपनि अहिलेसम्म फाइनल डिसिजन नभएको बताउँदै आगामी शनिबारसम्म निर्णय हुने बताए।
योङ टिमको जोस देखाउने तयार
कप्तान नियुक्त भएपछि पृथु बास्कोटाले चितवन टाइगर्स एभरेजमा इपीएलकै योङ्यस्ट टिम रहेको र टिम ब्यालेन्स्ड रहेको बताए।
उनले टिममा राष्ट्रिय टिमबाट खेलिसकेका दीपेन्द्र सिंह ऐरी, दीलिप नाथ र ललित सिंह भण्डारी जस्ता खेलाडी रहेकाले सकेसम्म राम्रो क्रिकेट खेल्ने प्रतिक्रिया दिए। ‘प्रतियोगिताको अन्त्यमा हामी सबैभन्दा अगाडी रहन चाहन्छौँ।’
यस्तै पृथुले विदेशी खेलाडीको आगमनपछि टिममा युवा र अनुभवी खेलाडीको मिश्रण हुने रटिम बलियो हुने बताए।
यसैगरी प्रशिक्षक कलाम अलीले टिम कस्तो छ भन्दा पनि फिल्डमा गएर कसले राम्रो खेल्ने विषय महत्वपूर्ण रहने भन्दै चितवन टाइगर्स ब्यालेन्स्ड टिम रहेको बताए।
क्रिकेट एकेडेमी खोल्ने
आइसडिएस ग्रुपका अध्यक्ष भट्टराईले इपीएलपछि चितवन टाइगर्स क्रिकेट एकेडेमी खोल्ने तयारी रहेको सुनाए। ‘हामी क्रिकेटसँगै फुटबल र मार्सल आर्ट्सलाई फोकस गरेर अगाडी बढ्नेछौँ।’