काठमाडौं : एकातिर कम्युनिस्ट गठबन्धन। अर्कातिर लोकतान्त्रिक गठबन्धन। प्रतिस्पर्धा कडा हुने नै भयो। वाम गठबन्धन सहित चुनावमा जाँदा एमाले-माओवादी जित्नेमा ढुक्कजस्तै देखिएका थिए भने कांग्रेस उनीहरुको जित रोक्न सक्रिय। परिणाम आउनेक्रम अन्तिमतिर पुग्दैगर्दा वाम गठबन्धनले पायो बहुमत। वाम लहरलाई चुनावी परिणाममा रोक्न सफल भएन कांग्रेस।
अपेक्षित मतपरिणम पाए पनि वाम गठबन्धनका केही नेताले नराम्ररी हार भोग्न पर्यो। कांग्रेसमा त पहिरो नै गयो – शीर्ष के नयाँ के? हार्नेकै संख्याले शिखर छोयो। जित र हारको बीचमा एक अंकमात्र पनि हुनसक्छ या हजारौं। झिनो मतान्तरले पराजित नेता मतान्तर धेरैले हार्नेभन्दा बढी नै पीडामा हुनुपर्छ। हजार मत भन्दा कम अन्तरमा हार्ने यी हुन् 'अभागी' नेता:
दुवै गठबन्धन हुम्लामा हिस्स : ४७ मतले शाही हारे
देशमा वाम गठबन्धनलाई चुनौती दिन बन्यो अर्को गठबन्धन लोकतान्त्रिक। गठबन्धनको प्रभाव हुम्लामा पनि पर्यो। वाम गठबन्धनले नेकपा माओवादीका छिमी दोर्ची लामालाई उम्दवार उठायो भने लोकतान्त्रिक गठबन्धनले उठायो मंगलबहादुर शाही। सबैले चासो यी दुई गठबन्धनका उम्मेदवारको प्रतिस्पर्धामा थियो। तर, मतपरिणाम सार्वजनिक भएपछि छक्क बहादुर लामाले सबैलाई छक्क नै पारिदिए। माओवादी छक्क बहादुर लामा टिकट नदिए पछि उनले उम्मेदवारी दिएका थिए। उनको उम्मेदवारी भारी पर्यो कांग्रेस उम्मेदवार मंगलबहादुर शाहीलाई। स्वतन्त्र उम्मेदवारसँग शाहीले ४७ मतान्तरले हार बेहोर्नु पर्यो।
सुदूरले हराएको नेता
सुदूर पश्चिममा रहेको नेपाली कांग्रेसको वर्चश्व यसपालाको निर्वाचनले खोस्यो। कांग्रेसले प्रदेश नम्बर ७ मा प्रधानमन्त्री शेरबहादुर देउवाबाहेक कसैलाई जिताउन सकेन। हार्नेहरुको लामो लहरमा कांग्रेसका चर्चित नेताहरु रहे। त्यहीमध्ये रमेश लेखक पनि हुन् जसले झिनो मतान्तरले जित गुमायो। कञ्चनपुर ३ मा उम्मेदवार रहेका रमेश लेखक २ सय ५८ मतले पारजित भए। लामो समयदेखि सुदूर पश्चिमबाट प्रतिनिधित्व गर्दै आएका उनलाई नेकपा एमालेका दीपकप्रकाश भट्टले हराए। भट्टले २६ हजार ३ सय ६४ मत ल्याएर जित दर्ता गर्दा लेखकको भागमा २६ हजार १ सय ६ मत रह्यो।
३ सय कम अन्तरमा मनाङमा जित
मनाङमा अलि भिन्न खालको प्रतिस्पर्धा भयो। वाम गठबन्धनको तर्फबाट पोल्देन छोपाङ गुरुङ र नेपाली कांग्रेसबाट टेकबहादुर गुरुङ प्रतिस्पर्धामा थिए। एकपटक मन्त्री समेत भैसकेको टेकबहादुर र राजनीतिक छवि नभएका पोल्देनबीच प्रतिस्पर्धा थियो मनाङमा। पोल्देनको राजनीतिक छवि नभएपछि जित आफ्नो पक्षमा आउनेमा टेकबहादुर विश्वस्त थिए। यसैबेला जिल्लाको राजनीतिमा प्रवेश गरे दीपक मनाङे। टेकबहादुर गुरुङ पोल्देनसँग २ सय ७९ मतले हारे।
मुस्ताङमा उस्तै
दोस्रो संविधान सभाको चुनावमा नेपाली कांग्रेसले टिकट नदिएपछि बागी उम्मेदवारी दिएका नेता थिए प्रेमप्रसाद तुलाचन। यति हुँदाहुँदै पनि कांग्रेस उम्मेदवार रोमी गौचन थकालीसँग उनी पराजित भए। बागी उम्मेदवारी दिएपछि तुलाचनलाई पाँच वर्षका लागि कांग्रसले निलम्बन गर्यो। अफ्नै पार्टीमा रेहेका बेला तुलाचनले बागी उम्मेदवारी दिँदा पनि विजयी भएकाले यसपाला पनि जित अफ्नो पक्षमा हुने विश्वस्तमा थिए रोमी। तर, यसपटक तुलाचन भने एक्ला थिएनन्। उनले साथ पाएका थिए वाम गठबन्धनको। मुस्ताङमा उल्लेख्य काम गरेकाले जनमत आफूतिर रहेको दाबी गर्दै आएका रोमी गौचनले अन्तत् एमालेबाट टिकट हात पारेका प्रेमप्रसाद तुलाचनसँग ३ सय ६३ मतान्तरले पराजय भोगे।
नवीन्द्रराज जोशीको भागमा हार
काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिस्पर्धामा थिए नेकपा एमालेका नेता तथा वाम गठबन्धनका साझा उम्मेदवार जीवनराम श्रेष्ठ र नेपाली कांग्रेसका नवीन्द्रराज जोशी। कांग्रेका नवीन्द्रराज जोशी २०६४ र २०७० को चुनावमा यसै क्षेत्रबाट बिजयी भएका थिए। अझ २०७० सालको चुनावमा भारी मतान्तरले विजय भएका थिए। जितसँगै उनी उद्योग मन्त्री रहेर राम्रो काम गरेवापत स्यावासीसमेत बटुल्न सफल थिए। जोशीले यस क्षेत्रमा आफ्नो राजनीतिक पकड राम्रो बनाएकाले फेरि पनि कांग्रेसले उठायो। तर, उनी नेकपा एमालेका जिवनराज श्रेष्ठसँग ४ सय ४४ मतान्तरले पराजित भए।
शेखरमाथि हावी लालबाबु
मोरङ ६ मा वाम गठबन्धका लालबाबु पंडित र नेपाली कांग्रेसका शेखर कोइरालाबीचको प्रतिस्पर्धाले राजनीतिक वृत्त तातेको थियो। कांग्रेसको लामो विरासत बोकेको मोरङ र त्यसमा पनि शेखर कोइरालाको शीर्षता दुवै बलियो थियो। तर, जनतासँग जोडिएका नेकपा एमालेका लालबाबुको राजनीतिक उचाई शेखरसँग तुलना गर्न नमिले पनि पराजयको भागिदार उनैबाट भोग्न पर्यो शेखरले। लालबाबुसँग ६ सय ७५ मतको अन्तरले शेखर पराजित भए।
शीर्ष बामदेवको पनि उस्तै हार
नेकपा एमालेका बामदेव गौतमले ७ सय ५३ मतान्तरले पराजित हुन पर्यो। प्रतिनिधि सभा सदस्यको लागि बर्दिया १ बाट चुनावमा होमिएका उनी नेपाली कांग्रेसका संजयकुमार गौतमसँग पराजित भए। वाम गठबन्धनका सुत्रधारका रुपमा रहेका गौतमको राजनीतिक उचाई र जित हासिल गरेका संजयकुमार गौतमबीच पनि शेखर कोइराला र लालबाबु पंडितकैजस्तो अन्तर छ। तर, दलमा कायम गरेको उचाईलाई जनताको अदालतले भने उल्ट्यायो।
मिडियाकै कारण चर्चित
दलीय हैसियतका आधारमा रवीन्द्र मिश्र कमजोर उम्मेदवार भए पनि उनले नेपाली कांग्रेसका शीर्ष नेतालाई ठूलै प्रतिस्पर्धा दिए। मिडिया कर्ममा लामो समय विताएका कारण सबैजसो मिडिया रवीन्द्रको पक्षमा उत्रेका थिए। मिडियाले बोकेकै कारण मिश्रले राम्रो मत ल्याए। तर जित मिल्यो प्रकाशमान सिंहलाई। सिंहले जित हासिल गरे पनि उनले हासिल गरेको जितलाई 'हार' झै बनाउन भने रवीन्द्र सफल रहे। प्रकाशमान सिंहसँग पराजित हुँदा मिश्रको मतान्तर ८ सय १८ मात्र रह्यो।