PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

जिल्ला न्यायाधीशको पदपूर्ति अव खुला प्रतिस्पर्धाबाट, न्याय सेवा आयोगले दरखास्त माग्यो



पहिलोपोस्ट

जिल्ला न्यायाधीशको पदपूर्ति अव खुला प्रतिस्पर्धाबाट, न्याय सेवा आयोगले दरखास्त माग्यो

काठमाडौँ: न्यायिक इतिहासमै पहिलोपटक जिल्ला न्यायाधीशको पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने गरी न्याय सेवा आयोगले दरखास्त आह्वान गरेको छ।

संवैधानिक व्यवस्था अनुसार आन्तरिक खुला र खुला प्रतिस्पर्धा लिखित तथा मौखिक रुपमा हुनेछ। न्याय सेवा आयोगले तयार पारेको पाठ्यक्रम अनुसार कानुन व्यवसायी र योग्यता पुगेका कानुन, न्याय तथा सरकारी वकिल समूहका कर्मचारीले प्रतिस्पर्धा गर्न पाउनेछन्।

आयोगले बुधबार सूचना प्रकाशन गरी दरखास्त आह्वान गरेको छ। आवेदनका लागि पुस २७ गतेसम्मको समयसीमा तोकिएको छ। न्याय परिषद्को सचिवालयमा योग्यता पुगेका उम्मेदवारले आवेदन पेश गर्न सक्नेछन्।

आयोगले आन्तरिक खुलातर्फ १५ जनाको कोटा निर्धारण गरेको छ। जसमा न्याय सेवामा उपसचिव सरह पदमा कार्यरत कर्मचारीले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन्। न्युनतम अनुभव तीन वर्षको हुनु पर्नेछ।

यस्तै खुलातर्फ ८ जनाको कोटा निर्धारण गरिएको छ। जसमा निरन्तर आठ वर्ष वकालत गरेको कानुन व्यवसायी, न्यायसम्वन्धी कार्यमा अनुसन्धान र अन्वेषण गरी कम्तीमा आठ वर्ष अनुभव हासिल गरेको जोसुकैले पनि आवेदन दिन सक्नेछ। यस्तै, न्याय सेवाको राजपत्राङ्कित पदमा कम्तीमा आठ वर्ष अनुभव हासिल गरेको कर्मचारीले पनि प्रतिस्पर्धा गर्न पाउनेछन्।

आयोगले समानुपातिक समावेशी रुपमा महिलाबाट २, आदिवासी जनजाति २, मधेशी २, र दलित जनजाति २ जनाका लागि कोटा निर्धारण गरेको छ।

 

लिखित परीक्षा

आयोगले आवेदकले लिखित परीक्षा दिनु पर्ने गरी पाठ्यक्रम निर्धारण गरेको छ। कात्तिक २८ गते नै आयोगले पाठ्यक्रम पारित गरिसकेको छ। प्रतिस्पर्धीले मिसिल अध्ययन तथा लेखनसहित चार विषयमा परीक्षा दिनु पर्नेछ।

जसमा प्रथमपत्र विधिशास्त्र, संवैधानिक कानुन र कानुन प्रणाली रहेको छ। यस्तै द्धितीयपत्र देवानी कानुन र देवानी कार्यविधि रहेको छ। तृतीयपत्र फौजदारी कानुन र फौजदारी कार्यविधि रहेको छ। चौथो तथा अन्तिमपत्र मिसिल अध्ययन, फैसला लेखन तथा विश्लेषण रहेको छ।

लिखित उत्तीर्णका लागि कम्तीमा ५० अंक ल्याउनु पर्नेछ। उत्तीर्ण उम्मेदवारको मौखिक परीक्षा पनि हुनेछ।

 

कहिले हुन्छ परीक्षा? 

न्याय सेवा आयोगको सचिवालयका अनुसार आउँदो माघ १२ गतेदेखि परीक्षा कार्यक्रम सुरु हुनेछ। माघ १२ देखि १६ गतेसम्म लिखित परीक्षा हुनेछ। परीक्षा काठमाडौँ उपत्यकामा मात्र हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell