काठमाडौं : कैलाली निर्वाचन क्षेत्र एकबाट अत्याधिक मतले जित हासिल गरेका नेता रेशम चौधरीमाथिको विवादमा राष्ट्रिय जनता पार्टी (राजपा) मौनता साँधेको छ।
अध्यधिक मतले विजयी भए पनि निर्वाचन कार्यालयले उनलाई प्रमाणपत्र समेत दिएको छैन। निर्वाचन कार्यालय स्रोतका अनुसार उनको प्रमाणपत्र कुरियरमार्फत् निर्वाचन आयोगको कार्यालय काठमाडौं पठाइएको छ।
विजयी भएर पनि चौधरीले प्रमाणपत्र नपाउँदा मानव अधिकारवादी संस्थाहरुले ध्यानाकषर्ण भएको जनाएका छन्। तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स)ले विज्ञप्ति जारी गर्दै चौधरीलाई प्रमाणपत्र उपलब्ध गराउन माग गरेको छ।
यता चौधरी सचिव रहेको पार्टी राजपाले अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन। विभिन्न संस्थाहरुले दबाब दिइरहे पनि पार्टीले कुनै चासो नदेखाएको उनकी पत्नी रंजिता चौधरीले बताइन्।
राजपाका सचिव मनिष सुमनले चौधरीको विषयमा अहिलेसम्म कुनै छलफल नभएको बताए।