PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

इपीएल : भैरहवाको विजयी सुरुवात, काठमाडौंको दोस्रो हार



पहिलोपोस्ट

इपीएल : भैरहवाको विजयी सुरुवात, काठमाडौंको दोस्रो हार

काठमाडौं : भैरहवा ग्लाडिएटर्सले एभरेष्ट प्रिमियर लिग इपीएलमा विजयी सुरुवात गर्दा काठमाडौं किंग्स एलेभेनले लगातार दोस्रो हार बेहोरेको छ।

बुधबार भएको दिनको दोस्रो खेलमा भैरहवाले काठमाडौंलाई ७ विकेटले पराजित गरेको हो। जारी प्रतियोगितामा भैरहवाले पहिलो खेलमै जित हात पारेको हो। यता उद्घाटन खेलमा ललितपुर प्याट्रिओट्ससँग पराजित भएको काठमाडौंको यो लगातार दोस्रो हार हो।

भैरहवाको जितमा भारतीय खेलाडी पुनित विस्टले २८ बल खेलेर ६ चौकाको मद्दतमा नटआउट ४२ रन बनाए। यस्तै शरद भेषावकरले ३२ तथा हरीशैकर शाहले १४ रनको योगदान गरे। आरिफ शेख २३ रनमा नटआउट रहे।  ११ बल खेलेका आरिफले ३ चौका र १ छक्का प्रहार गरे। 

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं किंग्स एलेभेनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११८ रन बनाएको थियो। काठमाडौंका लागि ओपनर अमित श्रेष्ठले सर्वाधिक २९ रन बनाए। यस्तै सागर कुमारले २८, राजु रिजालले २२ तथा सागर पुनले १९ रन जोडे। अन्य खेलाडीले दोहोरो हंक छुन सकेनन्।

भैरहवाका दीपेश श्रेष्ठले ३ तथा कप्तान शरद भेषावकरले २ विकेट लिए। १४औँ ओभरमा मात्र आफ्नो स्पेश सुरु गरेका दीपेशले ३ ओभर बलिङ गर्दै १६ रन खर्चे।

पहिलो खेलमै जित हात पारेपछि खुशी देखिएको भैरहवाका कप्तान शरद भेषावकरले विपक्षीलाई कम स्कोर रोक्नु र बलरहरुले टाइट बलिङ गर्नु नै जितको आधार रहेको बताए। 'हामीले उनीहरुलाई ११८ मा रोक्यौँ। टाइट बलिङ गर्‍यौँ।' शरदले विदेशी खेलाडीको अनुभव पनि प्रयोग भएको र उनीहरुले आफ्नो क्षमता अनुसार ब्याटिङ गरेकोमा प्रशंसा गरे।

यता लगातार दोस्रो हारपछि काठमाडौं किंग्स एलेभेन का कप्तान फरविज महारुफले टोटल स्कोरमा १५ रन कम भएको प्रतिक्रिया दिए। 'सबैले राम्रो खेले तर हामी १५ रनले कम रह्यौँ। हामीमा अनुभवको कमी रह्यो।' प्रतियोगितामा अब तिन खेल मात्र बाँकी रहदा उनले टिमले धेरै सुधार गर्नुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell