काठमाडौं : एभरेष्ट प्रिमियर लिग इपीएलमा बिहीबार दुई खेल हुँदैछन्। बिहान ९ बजे सुरु हुने पहिलो खेलमा ललितपुर प्याट्रिओट्स र भैरहवा ग्लाडिएटर्स भिड्दैछन्।
ललितपुरको यो तेस्रो खेल हुनेछ। काठमाडौं किंग्सए-११ लाई पहिलो खेलमा हराएको ललितपुर दोस्रो खेलमा विराटनगर वारियर्ससँग पराजित भएको थियो।
यता भैरहवाले बुधबार आफ्नो पहिलो खेलमा काठमाडौंलाई नै हराउँदै विजयी सुरुवात गरेको हो।
यस्तै बिहीबारै काठमाडौं किंग्स-११ र चितवन टाइगर्सबीच दोस्रो खेल हुनेछ। दुवै टोलीले अहिलेसम्म जित हात पार्न सकेका छैनन् र अंकविहिन छन्।
काठमाडौं ललितपुर र भैरहवा ग्लाडिएटर्ससँग पराजित भइसकेको छ भने चितवन पहिलो खेलमा पोखरा राइनोजसँग पराजित भएको थियो। त्यसैले क्वालिफायरको सम्भावना कायम राख्न दुवै टोली पहिलो जितको खोजीमा छन्। दुई खेल हारिसकेका कारण काठमाडौं किंग्स अझ दबाबमा हुनेछ।