काठमाडौ : गत सोमबार बेलुका ६ बजे मोतिहारी थाना रक्सौल वस्ने भारतीय नागरिक ३७ वर्षीय रमेश कुमार पक्राउ परे। उनले चलाएको भारतीय नम्बर प्लेटको सेतो रङको स्कोर्पियो गाडीको डिकीमा प्रहरीले भारि मात्रामा लागूऔषध बरामद गरेको थियो।
केही दिन अगाडि मात्र लागू औषध नियन्त्रण ब्यूरोको टोलीले अन्तर्राष्ट्रिय विमानस्थलबाट एक रसियन नागरिक पक्राउ गर्यो। भिक्टोर नामका रसियन नागरिकले करिव डेढ किलो चरेस दुवई लैजान लागेका थिए। च्यावनप्रासको बट्टामा उनले चरेस लुकाएका थिए।
यी दुई घटनाले यो पुष्टि गर्छ कि नेपालमा खपतको लागि लागूऔषध कारोवार भएको होइन। लागूऔषध तस्करले नेपालाई ट्रान्जिट मात्र बनाएका हुन्। चरेस, हेरोइन, ब्राउन सुगर जस्ता लागूऔषध प्रयोगकर्ता नेपालमा कमै छन्।
विभिन्न देशबाट नेपाल भित्रायाउने र नेपाल भारत र चीनको खुला सिमानाको फाईदा उठाउँदै तस्करले अन्य मुलुक पठाउने गरेको देखिन्छ।
नेपालको खुल्ला सिमाना र फितलो कानुनका कारण नेपाललाई ट्रान्जिट बनाउने गरेको लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख डिआइजी ठूले राइले बताए।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले चालु आर्थिक वर्षको ५ महिनाको अवधीमा मात्र विभिन्न लागू औषध कारोबारमा संलग्न २ सय २४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। यसरी पक्राउ पर्नेमा १२ जना विदेशीसमेत छन्।
ब्यूरोले काठमाडौंबाट ३७ जना र १७७ जना विभिन्न जिल्लाबाट पक्राउ गरेको डिआईजी राईले बताए। ब्यूरोको टोलीले यो अवधीमा २८ किलो चरेस, १३ हजार १४६ एम्पुल विभिन्न नियन्त्रित लागूऔषध, २ किलो अफिम, साढे २ किलो कोकिन र ८ किलो खात बरामद बरामद गरेको छ। खात नेपालमा पहिलो पटक भित्रिएको लागूऔषधमा पर्छ।
पाँच महिनामा २ सयभन्दाबढी मानिस लागूऔषध कारोबारमा पक्राउ पर्नु नेपालमा डरलाग्दो रुपमा लागूऔषध कारोबार हुने गरेको छ भन्ने प्रष्ट भएको डिआइजी राईको भनाई छ।
नेपालमा हुने लागूऔषध कारोबार साउथ अफ्रिकामा बसेर लागूऔषधका तस्करले नेपालमा आफ्नो सञ्जाल फैलाएको प्रहरीको दाबी छ। प्रहरीको नियन्त्रणमा रहेका अधिकांश मानिस भरिया मात्र हुन्। मुख्य कारोबारी भने अझै फरार नै रहेका छन्।