काठमाडौं : काठमाडौं किंग्स-११ ले एभरेष्ट प्रिमियर लिग इपीएलमा पहिलो जित हात पारेको छ। बिहीबार भएको दोस्रो खेलमा काठमाडौंले किंग्स-११ ले चितवन टाइगर्सलाई ३ विकेटले पराजित गरेको हो।
१४३ रनको लक्ष्य काठमाडौंले १९.२ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो। काठमाडौंको जितमा कप्तान फरविज महारुफले अलराउण्ड प्रदर्शन गरे। बलिङमा ३ विकेट लिएका महारुफले ब्याटिङमा सर्वाधिक ३९ रनको योगदान गरे।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवन टाइगर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएको थियो।
चितवनका लागि ओपनर दीलिप नाथले सर्वाधिक ४६ रन बनाए। ४० बल खेलेका नाथले ५ चौका र १ छक्का प्रहार गरे। यस्तै साबेज खानले २७ तथा योगेन्द्र सिंह कार्कीले १७ रन जोडे। कमल सिंह ऐरी १२ रनमा नटआउट रहे।
बलिङमा काठमाडौंका कप्तान फरवेज महारुफले ३ विकेट लिए भने सागर पुन, अमरसिंह रौउटेला र विक्रम भुसालले १-१ विकेट लिए।
१४३ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले ओपनर सागर पुनलाई दोस्रो ओभरमा ५ रनमा गुमाएको थियो। तर कप्तान महारुफ र अर्को ओपनर अमित श्रेष्ठले दोस्रो विकेटका लागि ६५ रनको साझेदारी गरेपछि काठमाडौं जिततर्फ लम्किएको थियो।
महारुफले ३३ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३९ रन बनाए। यस्तै २४ बल खेलेका अमितले ७ चौका प्रहार गर्दै ३८ रनको योगदान गरे। यस्तै सागर कुमारले २३ तथा सिद्दान्त लोहनीले १२ रन जोडे। अक्षु फर्नान्डो ८ तथा अमरसिंह रौउटेला ५ रनमा नटआउट रहे। बलिङमा चितवनका प्रमेश गुप्ताले २ विकेट लिए।