काठमाडौं : काठमाडौं किंग्स-११ ले एभरेष्ट प्रिमियर लिग (इपीएल)मा तेस्रो हार बेहोरेको छ। शुक्रबार भएको खेलमा काठमाडौं पौखरा राइनोजसँग ६ विकेटले पराजित भएको हो।
लो स्कोरिङ खेलमा ९९ रनको सामान्य लक्ष्य पोखराले १८.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।
४ खेल खेलिसक्कदा ३ हार बेहोरेको काठमाडौंको प्लेअफ सम्भावना कमजोर बनेको छ। ललितपुर प्याट्रिओट्स र भैरहवा ग्लाडिएटर्ससँग समान ७ विकेटले पराजित भएको काठमाडौंले चितवन टाइगर्सलाई ३ विकेटले हराउँदै पहिलो जित हात पारेको थियो।
काठमाडौंले लिग चरणको अन्तिम खेलमा विराटनगर वारियर्ससँग मात्र खेल्न बाँकी छ।
काठमाडौंले अब प्लेअफमा स्थान बनाउन अन्तिम खेल जित्नैपर्नेछ भने बाँकी खेलमा आफू अनुकुल नतिजा आउनुपर्नेछ।
यता पोखराले भने दोस्रो जित हासिल गरेको छ। पहिलो खेलमा चितवन टाइगर्सलाई हराएको पोखरा दोस्रो खेलमा भने विराटनगर वारियर्ससँग पराजित भएको थियो।
कीर्तिपुरस्थित टियू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं किंग्स-११ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९८ रन बनाएको थियो। काठमाडौंको इनिङ्समा ओपनर सागर पुनले सर्वाधिक ३६ रनको योगदान गरे।
पहिलो ओभरमै पोखराका विक्रम सोबले काठमाडौंका अमित श्रेष्ठ र कप्तान फरविज महारुफलाई शुन्यमा आउट गरेका थिए। राजु रिजालले १७ तथा सोमपाल कामीले १० रन जोडे। अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।
पोखराका विक्रम सोब, कप्तान शक्ति गौचन र सुशन भारीले २-२ विकेट लिए।
पाकिस्तानी खेलाडी इस्रारउल्लाहले नटआउट ४५ रन बनाएपछि पोखराले सहज जित हात पारेको हो। ४८ बल खेलेका इस्राररुल्लाहले ३ चौका र २ छक्का प्रहार गरे। यस्तै ओपनर सुनिल धमलाले २० रनको योगदान गरे। पहिलो विकेटका लागि इस्रारउल्लाह र धमलाले ३८ रनको साझेदारी गरेका थिए। कप्तान शक्ति गौचन १८ रनमा नटआउट रहे।
बलिङमा काठमाडौंका सागर पुनले २ तथा विक्रम भुसालले १ विकेट लिए।