काठमाडौ : कालीकोटमा प्रहरी र म्यादी प्रहरीबीच झडप हुँदा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ।
प्रहरीले चलाएको गोली लागी रासकोट नगरपालिका २ का म्यादी प्रहरी विवेक ऐरीको मृत्यु भएको हो। ऐरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
म्यादी प्रहरीको तलवमा विभेद भएको भन्दै म्यादी प्रहरीले जिल्ला प्रहरी कार्यालयको गेटमा प्रदर्शन गरेका थिए। प्रदर्शनले उग्ररुप लिएपछि नियन्त्रण लिन प्रहरीले हवाइफायर गरेको थियो।
विहानदेखि भएको प्रदर्शन अझै जारी छ। सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सुरक्षाको लागि भर्ना भएका ९८ हजार म्यादी प्रहरी आजदेखि विदा भएका छन्।
निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्य अवधि ५५ दिनको थियो। म्यादी प्रहरीले नेपाल प्रहरीको जवानले खाइपाई आएको तलब तथा भत्ता बराबरको रकम पाएका छन्।
प्रहरी जवानको तलब सरह मासिक १७ हजार २३० रुपैयाँ म्यादी प्रहरीले पाएका छन्। तराईका जिल्लामा दिनको १९७ रुपैयाँ रासन बापत पाउँछन्। अन्य जिल्लामा भने ठाउँ अनुसार फरक/फरक रकम पाउने छन्। म्यादी प्रहरीले ग्रेड पाउँदैनन्।