काठमाडौं : एभरेष्ट प्रिमियर लिग इपीएल अन्तर्गत आज लिग चरणका दशौँ र ११औँ खेल हुँदैछन्। कीर्तिपुरस्थित टीयू इन्टरनेशनल मैदान हुने पहिलो खेलमा दुई अपराजित टिम विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटर्स भिड्नेछन्।
पारस खड्काको कप्तानीमा रहेको विराटनगरले लगतार तीन खेल जित्दै प्लेअफमा स्थान बनाइसकेको छ। विराटनगरले ललितपुर प्याट्रिओट्स, पोखरा राइनोज र चितवन टाइगर्सलाई पराजित गरिसकेको छ। यता भैरहवाले पनि लगातार दुई खेल जित्दै अपराजित छ।
भैरहवाले यो खेल जितेमा दुई खेल अघि नै प्लेअफमा स्थान बनाउनेछ। भैरहवाले पहिलो खेलमा ललितपुर काठमाडौं किंग्स-११ तथा दोस्रो खेलमा ललितपुर प्याट्रिओट्सलाई हराएको थियो।
यस्तै ललितपुर प्याट्रिओट्स र चितवन टाइगर्सबीच दोस्रो खेल हुनेछ। दुवै टोलीका लागि प्लेअफमा स्थान बनाउन यो खेल महत्वपूर्ण छ।
पहिलो खेलमा काठमाडौंलाई हराएको ललितपुरले त्यसयता विराटनगर र भैरहवासँग हार बेहोरेको थियो। यता चितवन लगातार तिन खेलमा पराजित भइसकेको छ। ललितपुरसँग पराजित भएको खण्डमा चितवन एक खेल बाँकी छदै लिग चरणबाटै बाहिरिने छ।