काठमाडौं : पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपीएल) मा लगातार चौथो जित हात पारेको छ।
अंशुमान रथको अर्धशतक तथा बलरहरुको उत्कृष्ट प्रदर्शनको मद्दतमा शनिबार भएको खेलमा विराटनगरले भैरहवालाई ३५ रनले पराजित गरेको हो। विराटनगरको जितमा राथले ५७ रन बनाए भने बलिङमा अभिनास कर्णले ४ तथा बसन्त रेग्मीले ३ विकेट लिए। कीर्तिपुरस्थित टीयू मैदानमा १५० रनको लक्ष्य पछ्याएको भैरहवा १८.३ ओभरमा ११४ रनमा अलआउट भयो।
विराटनगरले यसअघि ललितपुर, पोखरा र चितवनलाई हराएको थियो। प्रतियोगितामा भैरहवाको यो पहिलो हार हो। भैरहवाले यसअघि ललितपुर र काठमाडौं किंग्स-११ लाई पराजित गरेको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर वारियर्सले अंशुमन रथको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १४९ रन बनाएको थियो।
प्रतियोगितमा दोस्रो अर्धशतक प्रहार गर्ने क्रममा रथले ५० बल खेलेर ८ चौकाको मद्दतमा सर्बाधिक ५७ रन बनाए। यस्तै बाबर हायतले ३६, कप्तान पारस खड्काले १५ तथा प्रनित थापा मगरले १४ रन जोडे। करण केसी ११ रनमा नटआउट रहे।
भैरहवाका हरीशंकर शाहले ३ तथा आरिफ शेखले २ विकेट लिए।
१५० रनको लक्ष्य पछ्याएको भैरहवाका लागि कुनै पनि खेलाडीले टिकेर खेल्न सकेनन्। ओपनर प्रदिप ऐरी र हरीशंकर शाहले १८-१८ रन बनाए। नयाँ विदेशी खेलाडी प्रथम सालोन्केले ओपनिङ गरेपछि हरीशंकरले मिडल अर्डरमा ब्याटिङ गरेका थिए। यस्तै पुनित विष्टले १५ तथा आरिफ शेखले १० रन जोडे।
बलिङमा विराटनगरका अभिनास कर्णले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए। यस्तै ३.३ ओभर बलिङ बसन्त रेग्मीले ३, अदिसा अपुहानी, कप्तान पारस खड्का र करण केसीले १-१ विकेट लिए।
लगातार चार जितपछि विराटनगरका कप्तान पारस खड्काले योजना अनुसार सबैले राम्रो खेलेकाले जित हात पारेको बताए। ‘विशेष गरी बलरहरुले राम्रो प्रदर्शन गरिरहेका छन्, हामीले बोर्डमा पनि राम्रो टोटल बनाएका थियौँ।’ पारसले भने कुनै पनि खेल सहज हुने छैन। प्रतियोिगतामा फाइनल पुग्न अझै २ खेल जित्नुपर्छ। एक दिन खराब खेल्यौँ भने प्रतियोगिताबाट बाहिरिन्छ।
यता भैरहवाका कप्तान शरद भेषावकरले विराटनगरले राम्रो टार्गेट बनाएको र आफूहरुको नियमित रुपमा विकेट झरेका कारण पारजित भएको प्रतिक्रिया दिए।