काठमाडौं : विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपीएल)मा लिग चरणका सबै पाँच खेल जित्दै शीर्ष स्थान हात पारेको छ। सोमबार भएको लिग चरणको खेलमा विराटनगरले काठमाडौं किंग्स-११ लाई ८ रनले पराजित गरेको हो।
विराटनगरले दिएको १४८ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो।
लिग चरणका पाँच वटै खेलमा जित हात पारेको विराटनगर शीर्ष स्थानमा रहदै क्वालिफायर्सका लागि छनोट भएको छ। विराटनगरले अब फाइनल प्रवेशका लागि लिग चरणमा दोस्रो हुने टोलीसँग खेल्नेछ।
काठमाडौंले लिग चरणमा खेलेका ५ मध्ये १ खेल मात्र जित्दा ४ खेलमा पराजय बेहोरेको छ। चर हारपछि काठमाडौंले २ अंक मात्र जोडको छ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले बाबर हायतको अर्धशतक मद्दतमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो। हायतले ५० बल खेल्दै ५ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ६७ रन बनाए। यस्तै अंशुमन रथले ३२ तथा कप्तान पारस खड्काले २५ रन जोडे।
ओपनर आसिफ शेख दोस्रो ओभरमा शुन्यमा आउट भएका थिए। त्यसपछि अंशुमन र हायतले दोस्रो विकेटका लागि ७२ रनको साझेदारी गरे। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।
बलिङमा काठमाडौंका सोमपाल कामी र अमरसिंह रौउटेलाले २-२ विकेट लिए।
जवाफमा काठमाडौंले निर्धारित २० ओभमा ९ विकेट गुमाएर १३९ रन बनायो। काठमाडौंका लागि कप्तान फरविज महारुफले ४२ तथा नरेश ढाएरले ४० रन बनाए पनि जितका लागि पर्याप्त भएन।
३७ बल खेलेका महारुफ र ३२ बल खेलेका नरेशले समान ४ चौका प्रहार गरे। बलिङमा विराटनगरका अंशुमन रथले ३ तथा बसन्त रेग्मीले २ विकेट लिए।
'असली परिक्षा अब सुरु हुनेछ'
लगातार ५ खेल जितेपछि विराटनगरका कप्तान पारस खड्काले सबै टिमले क्वालिफायरका लागि नै फाइट गरिरहेको र अब त्यसो स्थानमा पुगेपछि असली परिक्षा सुरु हुने बताए। 'सबै टिम क्वालिफायरका लागि नै फाइट गरिरहेका छन् हामी त्यो स्थानमा पुगिसकेका छौँ। अब एउटा राम्रो जितले हामी फाइनलमा पुग्नेछौँ। असली परिक्षा अब सुरु हुनेछ। हामी क्वालिफानयरमा पुगेका छौँ। अब टप फाइट हुनेछ।'
खड्काले सबै खेलाडी राम्रो गरिरहेकाले जित सम्भव भएको प्रतिक्रिया दिए। 'हामीले सबै ५ खेलमा राम्रो खेल्यौँ। तिन वटा क्लोज गेम थियो। टिमका सबैले राम्रो खेलिरहेका छन्। आशा गर्यौँ। सबैले त्यसलाई निरन्तरता दिनेछन्।'
यता काठमाडौंका श्रीलंकन कप्तान फरविज महारुफले प्रतियोगिताकै बेस्ट गेम भएको प्रतिक्रिया दिए। 'हामीले खेलेकमा मध्ये यो सबैभन्दा बेस्ट गेम हो। तर हामी राम्रो खेलेर राम्रो टिमसँग हार्यौँ।' उनले १० रन जित बढि भएर र निरन्तर विकेट झर्नु नै हारको कारण रहेको बताए। 'हामीले उनीहरुलाई १० रन जति बढी दियौँ। हाम्रो पावरप्लेमा २ विकेट झर्नु नै क्रुसिएल पार्ट रह्यो।'
पहिलो पटक नेपाल आएर फ्रेन्चाइज टिमको कप्तानी गर्न पाउँदा धेरै खुशी रहेको र आगामी वर्ष समेत टिमले बोलाएमा आउने बताए। 'म केही इन्जर्ड थिएँ बलिङ धेरै गर्न पाइन। कप्तान भएको नाताले जिम्मेवारी पूरा गर्नु मेरो दायित्व हो। मैले हन्ड्रेड प्रतिशत भन्दा बढी दिएको छु। म मेरो समग्र प्रदर्शननबाट खुशी छु।' महारुफले सन्तुष्टी व्यक्त गरे। 'यहाँ मैले एकदमै राम्रो वातावरण पाएँ। मेरो टिम पनि राम्रो थियो। अर्को वर्ष बोलाएमा म फरी आउनेछु।'