PahiloPost

Jul 3, 2024 | २० असार २०८१

महाकालीमा पुल निर्माणका लागि कच्चा पदार्थ संकलन कार्य तीव्र



पहिलोपोस्ट

महाकालीमा पुल निर्माणका लागि कच्चा पदार्थ संकलन कार्य तीव्र
फाइल फोटो

भीमदत्तनगर : कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ स्थित ओदालीमा निर्माण गरिने महाकाली नदीको चार लेनको पुल निर्माणको तयारी भइरहेको छ। 

गत भदौमा प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेपछि पुल निर्माणको जिम्मा पाएको कुमार सिएसइसी जेभीले निर्माण सामग्री जडानदेखि कच्चा पदार्थ संकलन कार्य तीव्र गतिमा गरिरहेको छ। 

निर्माण कम्पनीले पुल निर्माणस्थल छेउमा क्रसर जडान, श्रमिकका लागि आवास, कार्यालय स्थापनाका साथै बालुवा÷ढुंगा र गिट्टी संकलन गरेको छ।

ओदालीदेखि उत्तरतर्फ गड्डाचौकीसम्म निर्माण हुने चार लेनको सडकको सर्वेक्षण सकिएर नापीको काम सुरुवातको चरणमा रहेको महाकाली पुल योजना कार्यालय भीमदत्तनगरका प्रमुख प्रदीप भण्डारीले जानकारी दिए। 

‘तीन साताभित्रमा सडकको नापीको काम सकिएपछि जग्गा मुआब्जाको काम सुरु हुन्छ’– योजना प्रमुख भण्डारीले भने,‘निर्माण कम्पनीले पनि साइडमा विभिन्न प्लान्ट र क्याम्प स्थापना गरिसकेको छ।’ 

मुआब्जाका लागि सरकारले चालु आर्थिक वर्षमा १० करोड रकम विनियोजन गरिसकेको छ। सडकमा पर्ने जग्गाको मुआब्जाका लागि सो रकम विनियोजन गरिएको हो। मुआब्जा वितरणपछि सडक निर्माणको काम सुरु हुने भण्डारीले बताए। 

पुलका लागि क्रसर प्लान्ट, ब्याचिङ प्लान्ट, क्याम्प, पुलका लागि करिब ७० हजार घरमिटर ढुंगा तथा बालुवा संकलन भइसकेको निर्माण कम्पनीले जनाएको छ। पुलसँगै महाकाली नदी वारि करिब ६ किलोमिटर र पारि दोधाराचाँदनीतर्फ डेढ किलोमिटर चार लेनको सडकसमेत निर्माण हुनेछ । 

‘पुलका लागि चालु आर्थिक वर्षमा ५५ करोड रकम आएको छ’ महाकाली पुल योजना कार्यालयका प्रमुख भण्डारीले भने,‘पुल निर्माणको तयारी सन्तोषजनकरुपमा अघि बढिरहेको छ।’ उनले सडकमा पर्ने रुख कटानीका लागि सम्बन्धित कार्यालयलाई पत्राचारसमेत भइसकेको जानकारी दिए। 

तीन अर्ब २७ करोड ९३ लाख ३४ हजारमा निर्माणको सम्झौता भएको छ । निर्माण अवधि तीन वर्ष तोकिएको छ। पुल निर्माण भए कञ्चनपुर नेपाल–भारतको महत्वपूर्ण व्यापारिक नाकाका रुपमा विकसित हुने स्थानीयबासीको अपेक्षा छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell