PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

इपीएल : विराटनगर फाइनलमा, भैरहवालाई अर्को मौका



पहिलोपोस्ट

इपीएल : विराटनगर फाइनलमा, भैरहवालाई अर्को मौका

काठमाडौं : पारस खड्काको कप्तानी रहेको विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपीएल)को फाइनलमा प्रवेश गरेको छ।

बुधबार भएको पहिलो क्वालिफायर्समा भैरहवा ग्लाडिएर्सलाई ८ विकेटले पराजित गर्दै विराटनगरले फाइनलमा स्थान बनाएको हो। विराटनगरको जितमा बाबर हायतले अर्धशतक प्रहार गरे। यस्तै कप्तान पारस खड्काले नटआउट ४२ रनको योगदान गरे।

लिग चरणमा सबै ५ खेल जितेर अपराजित बन्दै विराटनगरले १० अंक जोडेको थियो। लिग चरणमा विराटनगरले भैरहवालाई ३५ रनले पराजित गरेको थियो।

विराटनगरसँग पहिलो क्वालिफायरमा हारेपनि भैरहवाले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ। बुधबार पोखरा र ललितपुरबीच हुने एलिमिनेटरको विजेतासँग भैरहवाले बिहीबार फाइनल प्रवेशका लागि खेल्नेछ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२७ रन बनाएको थियो। भैरहवाका लागि पुनित मेहराले ४९ तथा आसिफ शेखले ४६ रन बनाए।

२७ रन बनाउँदा ४ विकेट गुमाएको भैरहवाका लागि पुनित र आरिफले पाँचौ विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए।

बलिङमा विराटनगरका करण केसी र सहान अदिसा अप्पुहामीले २-२ विकेट लिए।

जवाफमा १२८ रनको लक्ष्य पछ्याएको विराटनगरले पहिलो ओभरमै आसिफ शेखलाई शुन्यमा गुमाएको थियो। तर बाबर हायतले दोस्रो विकेटका लागि अंशुमन राथसँग ७४ रनको साझदारी गर्दै जिततर्फ डोहोर्‍याएका थिए। ४४ बल खेलेका हायतले ४ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ६२ रन बनाए।

यस्तै कप्तान पारस खड्काले २४ बल खेल्दै २ चौका र ४ छक्काको मद्दतमा नटआउट ४२ रन बनाए। पारस र अंशुमनले तेस्रो विकेटका लागि ५६ रनको साझेदारी गरे। अंशुमन २६ रनमा नटआउट रहे।

विराटनगरका कप्तान पारसले ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गरेकाले जित हात पारेको बताए। ‘सबैले राम्रो प्रदर्शन गरिरहेका छन्। बाबर र अंशुमन उत्कृष्ट ब्याटिङ गरे। बलरहरुले पनि राम्रो गरिरहेका छन्।’

पराजित भैरहवाका कप्तान शरदले सुरुको पावरप्लेमा धेरै विकेट गुमाउनु र १० ओभरभित्र कम रन बन्नुले नै हार बेहोर्नुपरेको प्रतिक्रिया दिए। यद्यपी ब्याटिङ राम्रो कमब्याक भएकोमा उनले सन्तुष्टी व्यक्त गरे।

शरदले पनि विराटनगरका बाबर, अंशुमन र पारसले उत्कृष्ट ब्याटिङ गरेको बताए। उनले दोस्रो क्वालिफायर जितेर फाइनल पुगे विराटनगर विरुद्ध फरक रणनीति बनाएर खेल्ने सोच रहेको पनि बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell