PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

कथाले नमागेपछि बनेन फिल्म 'झोले' सिक्वेल



पहिलोपोस्ट

कथाले नमागेपछि बनेन फिल्म 'झोले' सिक्वेल

काठमाडौं: फिल्म 'झोले'को सिक्वेल निर्माण योजनामा थिए निर्माता टेकेन खड्का। उक्त फिल्मले इन्डस्ट्रीमा व्यवसायको आशा लाग्दो संकेत गरेपछि खड्का चुप लागेर बस्न सकेनन्।

त्यसैले झोले निर्देशक दीपेन्द्र के खनाललाई फिल्मको दोस्रो संस्करण बनाउने योजना सुनाए।

'तर उहाँ व्यस्त हुनुन्थ्यो। अरु प्रोजेक्टका कारण सिक्वेलका लागि समय दिन नसक्ने बताउनु भयो', फिल्म निर्देशनको लागि खनाललाई प्रस्ताव गर्दाको कुरा सम्झिए। खनालको समय नमिलेपछि उनले रामबाबु गुरुङलाई आफ्नो योजना सुनाए। रामबाबुले सहमती जनाए र अघि बढ्यो कथा लेखन प्रक्रिया। सिक्वेलको नाम जुराइयो 'मिस्टर झोले'।

आजभोली सिक्वेलको नाममा सार्वजनिक भएका धेरै फिल्महरुले पहिलो संस्करणको कथालाई निरन्तरता दिंदैनन्। न त प्रिक्वेलले उठाएको विषयसँग कुनै सम्बन्ध राख्छ। 'दर्पणछायाँ २', 'ए मेरो हजुर दुई', 'धुम २', 'चपली हाइट २' यसका उदाहरण हुन्।

कथा तयार भएपछि 'मिस्टर झोले' 'झोले'को सिक्वेल नबन्ने भयो। टेकेन स्विकार्छन्- कथा, विषय नमिलेपछि त्यसलाई सिक्वेल घोषणा गर्नु ठिक होइन। 'कथा नै अर्कै बन्यो। पात्रहरुमै फरक माग्यो कथाले। कथाले नमागेपछि कसरी सिक्वेल बनेको दाबी गर्नु', उनले मिस्टर झोले र झोलेको विषय उठाम फरक भएको प्रष्ट पारे। 

कमेडी जनराको फिल्म मिस्टर झोलेको योजना मजाक मजाकमा बनेपनि कथाको लागि मिहेनेत गरेको बताउँछन् लेखक तथा निर्देशक रामबाबु गुरुङ। भन्छन्,'दुई तीनवटा कथाबाट एउटा छानेका हौं। कथाले मागेका पात्र अनुसार भूमिका सबै कलाकारले निभाउन निकै मिहेनेत गर्नु भएको छ।'

चार मिस्टर झोलेको रुपमा प्रस्तुत छन् दयाहाङ राई, प्रविण खतिवडा, विजय बराल र बुद्धी तामाङ। जसमध्य अन्तरमुखी स्वभावका प्रनिण खतिवडा आफूलाई कमेडी पात्र झोले बन्न निकै मिहेनेत गर्नु परेको बताउँछन्। भन्छन्,'म एक्लैको कोसिसले त हुँदैन थियो होला। सबैले मलाई सिकाउनु भयो। हामीले एकअर्कासँग सिक्यौं र राम्रो काम सम्भव भयो।'

दयाहाङ राई फिल्म सिक्वेल नहुनुले आफूलाई सजिलो बनाएको सुनाउँछन्। 'फेरी उस्तै झोले बन्न गाह्रो हुन्थ्यो। पुरानो झोलेको ह्याङ्ग उत्रिसक्यो। त्यसैले नयाँ भूमिकालाई चाहिं सक्दो राम्रो गरेको छु।'

'झोले' नाम आफ्नो लागि लक्की भएको र इन्डस्ट्रीमा झोले एउटा ब्रान्ड रहने हेतुले नाममा झोले प्रयोग गरेको टेकेन खड्काले बताए। फिल्म 'मिस्टर झोले' पुस २८ गतेबाट रिलिज हुँदैछ। फिल्ममा दयाहाङ राई, प्रविण खतिवडा, विजय बराल, बुद्धी तामाङ, वर्षा राउत, दीया पुन, पुस्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल लगायतको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell