- टेक शाही
जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्दा दुई महिनासम्म पूर्ण सरसफाईका काम तिव्र पार्ने भनेपनि दुई महिना बितिसक्दासम्म सरसफाईका कुनै पनि काम हुन सकेका छैनन्।
खुला दिसामुक्त क्षेत्र घोषणा गरेपनि सरसफाईका कुनै पनि काम नहुँदा डोल्पा सदरमुकाम दुनै अहिले फोहरको डङ्गुर भएकोछ।
सदरमुकामका बासिन्दाले ढललाई भेरीनदीमा मिसाउँदा भेरीको रुप फेरिएर दुर्गन्धित हुन लागेकोमा स्थानीय अर्जुन हिराचनले चिन्ता व्यक्त गरे।
उतिबेला जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले हतारमै डोल्पालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेपनि अहिले डोल्पा सदरमुकाम र भेरी नदी दुवैको अवस्था झन् नाजुक भएको हिराचनले बताए।
सदरमुकाममा रहेका होटल तथा किराना पसलबाट दैनिक निस्कने सयौं किलो फोहर भेरीनदीमा फाल्नाले नदी दुर्गन्धित भएको स्थानीय योगेन्द्र बुढाले बताए।
भेरीमा फोहोर फाल्नु बाध्यता पनि भएको छ। बुढाले भने, स्थानीय निकायले फोहर व्यवस्थापन गर्न पहल गर्नुपर्छ।
शौचालयको ढलपनि भेरीमा
डोल्पा सदरमुकाम दुनैका ४० बढी स्थानीयले शौचालयको ढल सोझै भेरी नदीमा मिसाएका छन्। पूर्ण सरसफाई कहिलेदेखि हुन्छ भन्ने प्रश्नमा जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समिति स्थानीय निकायले गर्नु पर्ने तर्क गर्दै पन्छिन्छ। स्थानीय निकायलाई प्रश्न गर्दा कर्मचारीबिहीन भएकोले जिल्लालेनै गर्नुपर्ने भन्दै तर्किन्छन्।स्थानीय बासिन्दाहरु भने खुला दिसामुक्त क्षेत्र घोषणा गरेपछि सरसफाईमा जिल्लाको अवस्था झनै खस्केको बताउँछन्।
२ नगरपालिका र ६ गाउँपालिका रहेको डोल्पामा मापदण्ड नपुगेकोले खुला दिसामुक्त क्षेत्र घोषणा गर्न हुँदैन भनेर विरोध गर्दागर्दै पनि गत कात्तिक ९ गते खुला दिशामुक्त जिल्ला घोषणा गरेको स्थानीयको आरोप छ।
सरकारी कर्मचारीकै घरमा शौचालय छैनन्, उच्च वर्गका मानिसनै भेरीमा ढल मिसाउँछन्।भौगोलिक रुपमा नेपालको सबै भन्दा ठूलो जिल्लामा ३० प्रतिशत घरमा शौचालय छैनन्। २० प्रतिशत घरले शौचालय बनाए पनि प्रयोग गर्दैनन्।
५० प्रतिशत घरधुरीले शौचालयको प्रयोग गरेपनि व्यवस्थित शौचालय नभएको जिल्लामा काम गर्ने गैरसरकारी संस्थाको तथ्याङ्क छ। सरकारी कर्मचारीहरुलेनै अरुको शौचालय प्रयोग गर्ने गरेको पनि गैरसरकारी संस्थाहरुको दावी छ।
सदरमुकाममा उच्च वर्गका घरमा बनाएको शौचालयको फोहोरनै सिधै भेरी नदीमा मिसाउने गरेको पाईएको छ।सयौं घरको ढल मिसाएर दुर्गन्धित बनाईएको भेरी नदीको पानी एक वर्ष भित्र पिउन मिल्ने बनाउने घोषणा गरेका ठूली भेरी नगरपालिकाका उपमेयर योगेन्द्र बहादुर शाही अहिले आफै गुमनाम भएको स्थानीयको आरोप छ।
स्थानीय तहका जनप्रतिनिधिले दुनैलाई सुन्दर सदरमुकाम र पर्यटकीय गन्तव्य बनाउने भनेपनि स्थानीय निकाय गुमनाम हुँदा भेरीले बागमतीको रुप धारण गर्न लागेको हो।
२०६५ सालदेखि खुला दिसामुक्त गाविस घोषणा गर्न थालिएको डोल्पामा १० वर्ष वितिस्कदा पनि अधिकांशको घरमा शौचालय बनाउन सकिएको छैन। दलित वस्तीमा यस्तो समस्या झन धेरै रहेको किडार्क नेपाल डोल्पाका संयोजक सुरेन्द्र ढकालले बताए।
अधिकांश घरमा सौचालय भएपनि प्रयोग नहुनुमा खानेपानीकै समस्या भएको स्थानीयले बताएका छन्। खानेपानी नभएको बेला शौचालय कसरी प्रयोग गर्ने ? शौचालय प्रयोग गर्न पानी अनिवार्य चाहिन्छ।
तीन घण्टा हिडेर पानी बोक्नुपर्ने डोल्पामा बोकेको पानीले शौचालय प्रयोग गर्न नसकिने भन्दै स्थानीयले शौचालयको प्रयोग नगरेका पत्रकार महासंघ डोल्पाका अध्यक्ष बबिकिशोर गुरुङले बताए।