PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

भैरहवालाई १ रनले पराजित गर्दै विराटनगरले जित्यो इपीएलको उपाधि



पहिलोपोस्ट

भैरहवालाई १ रनले पराजित गर्दै विराटनगरले जित्यो इपीएलको उपाधि

काठमाडौं : भैरहवा ग्लाडिएटर्सलाई १ रनले पराजित गर्दै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपीएल)को उपाधि जितेको छ। शनिबार भएको फाइनलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगरले १४९ रन डिफेण्ड गर्दै उपाधि जितेको हो। १५० रनको लक्ष्य पछ्याएको भैरहवाले १४८ रन मात्र बनाउन सक्यो। शनिबारको दिन भएका कारण टी यू मा झण्डै १५ हजार दर्शकले प्रत्यक्ष खेले हेरेका थिए।

अन्तिम ओभरमा भैरहवालाई जितका लागि ९ रन आवश्यक थियो र उसको हातमा ४ विकेट पनि थियो। तर विराटनगरका अनिल शाहले बलिङ गरेको उक्त ओभरमा भैरहवाले थप ३ विकेट गुमाएर ७ रन मात्र जोड्न सक्यो।

१ रनको रोमाञ्चक जितपछि च्याम्पियन टिमका कप्तान पारसले सबै खेलाडीले राम्रो खेलेकाले उपाधि जितेको बताए। 'क्रेडिट गोज टु द टिम। निकै बिरलै मात्र यस्तो म्याच खेलिन्छ। १ रनको जित भएपनि यो जित हो। हामी जित्न सफल भयौँ।' पारसले खेलपछि भने। 'हामीले टुर्नामेन्ट भरी नै राम्रो क्रिकेट खेल्यौँ र राम्रो क्रिकेट खेलेरै हामी विजयी भयौँ।'

उपाधिसँगै विराटनगरले नगद २१ लाख पुरस्कार हात पारेको छ।

प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेअर भैरहवाका रोहित कुमार पौडेल घो‍षित भए। यस्तै म्यान अफ दी सिरिज विराटनगरका बाबर हायत चुनिए।

उता पराजित टिमका कप्तान शरदले फाइनल सोचेजस्तै भएको प्रतिक्रिया दिए। 'फाइनल फाइनल जस्तै भयो। एकदमै इन्ट्रेस्टिङ म्याच भयो सबैले भनेजस्तै। दुवै टिमको लागि १ रन भनेको ठूलो मार्जिन होइन। सबैले राम्रो इफोर्ट लगाए। बट अन्फर्चुनेटली हामी लास्टमा आत्तियौँ।' शरदले भने। 'लास्टमा हाम्रो कन्जुकेटिभ विकेट गए। ५/६ विकेट नै गयो। योङ खेलाडीहरु छन् उनीहरु अली प्यानिक भएजस्तो लाग्यो।' तर सबैले राम्रो खेलेकोमा शरदले सन्तुष्टी व्यक्त गरे।

'जुन तरिकाले यसअगाडीका म्याचहरुमा हाम्रा खेलाडीहरुले खेल म एकदमै प्राउड छु। विशेषगरी आरिफ र रोहित। योङ खेलाडीले राम्रो खेले।'

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको हो। विराटनगरका लागि अंशुमन रथले सर्वाधिक ४१ रन बनाए।

यस्तै कप्तान पारस खड्काले २७ रन योगदान गरे। अनिल कुमार शाहले २२ तथा प्रनित थापा मगरले १४ रन जोडे। यसअघिका खेलहरुमा उत्कृष्ट प्रदर्शन गरेका विराटनगरका विदेशी खेलाडी बाबर हायत ११ रन बनाएर आउट भए। बलिङमा भैरहवाका हरीशंकर शाह र कृष्ण कार्कीले २-२ विकेट लिए।

जवाफले भैरहवाले पूरै २० ओभरमा ९ विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो। भैरहवालाई अन्तिम ओभरमा जितका लागि ९ रन आवश्यक थियो। तर भैरहवाले अन्तिम ओभरमा २ विकेट गुमायो भने ७ रन मात्र बनाउन सक्यो।

भैरहवाका लागि कप्तान शरद भेषावकरले अर्धशतक प्रहार गरेपनि जितका लागि पर्याप्त भएन। उनले सर्वाधिक ५२ रनको योगदान गरे। यस्तै प्रथम सालुन्केले ३० रन बनाए।

ओपनर राहुल यादव चौथो ओभरमा ६ रन बनाएर आउट भएपछि सालुन्के र शरदले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए। विराटनगरका अंशुमन रथले बलिङ गरेको आठौँ ओभरमा भैरहवाले ३६ रन जोडेको थियो।

उक्त ओभरमा शरदले रथलाई चार छक्का र एक चौका प्रहार गरे। एउटा छक्का नोल बलमा प्रहार गरेका थिए। रथले उक्त ओभरमा ३ वाइड बल फ्याँकेका थिए। यस्तै आरिफ शेखले २७ रन जोडे। बलिङमा विराटनगरका कप्तान पारस खड्काले ३ विकेट लिए भने करण केसी र अनिल शाहले २-२ विकेट लिए।

१९औँ ओभरमा २ विकेट लिदै खेललाई टर्न गराएका विराटनगरका कप्तान पारस खड्का म्यान अफ दि फाइनल बने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell