PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

फुटबलको वर्ल्ड कप, भलिबलको वर्ल्ड च्याम्पियनसिप, अरु कुन-कुन प्रतियोगिता हुँदैछ २०१८ मा?



पहिलोपोस्ट

फुटबलको वर्ल्ड कप, भलिबलको वर्ल्ड च्याम्पियनसिप, अरु कुन-कुन  प्रतियोगिता हुँदैछ २०१८ मा?

वर्ष २०१७ लाई बिट मार्दै आजबाट नयाँ वर्ष २०१८ सुरु भइसकेको छ। वर्ष २०१८ खेलकुद क्षेत्रका लागि विशेष रहने छ। यसै वर्ष विश्व फुटबलको कुम्भमेला २१औँ विश्वकप हुँदैछ। यसबाहेक क्लब फुटबल, क्रिकेट, टेनिस लगायत अन्य खेलमा पनि विभिन्न खाले प्रतियोगिता आयोजना हुनेछन्।

वर्ष २०१८ मा विश्वमा हुने ११ ठूलो इभेन्ट

 

विश्वकप फुटबल

विश्वकप फुटबलको २१औँ संस्करण जुन १४ देखि जुलाई १५ सम्म रुसमा आयोजना हुनेछ। रुसले विश्वकप आयोजना गर्न लागेको यो पहिलो पटक हो। आयोजक रुससँगै विश्वकप खेल्ने ३२ राष्ट्रको समूह विभाजन मेत भइसकेको छ। यसपटक आइसल्याण्ड र पानामाले पहिलो पटक विश्वकप खेल्दैछन् भने नेदरल्याण्ड्स, चिली जस्ता ठूला राष्ट छनोट हुन असफल रहे।

 

युरोपियन च्याम्पियन्स लिग फाइनल

२०१७/१८ सिजनको युरोपियन च्याम्पियन्स लिगको समूह चरणका खेलहरु सकिसकेका छन्। अब प्रिक्वाटरफाइनल देखि फाइनल सम्मका खेल हुन बाँकी छ जुन २०१८ मै हुनेछ। यस्तै च्याम्पियन्स लिगको फाइनल खेल २०१८ मे २६ मा युक्रेनको किभमा हुनेछ।

 

कमनवेल्थ गेम्स

बेलायतले विभिन्न समयमा उपनिवेश बनाएका राष्ट्रहरुबीच हुने कमनवेल्थ गेम्स पनि २०१८ मै आयोजना हुँदैछ। ७० राष्ट्रका खेलाडीले विभिन्न खेलमा भाग लिने यो गेम्स अप्रिल ४ देखि १५ सम्म अष्ट्रेलियाको क्विनस्ल्याण्डस्थित गोलकोस्टमा हुनेछ।

 

विन्टर ओलम्पिक गेम्स

प्रत्येक ४ वर्षको अन्तरालमा आयोजना हुने विन्टर ओलम्पिक गेम्स पनि २०१८ मा आयोजना हुनेछ। समर ओलम्पिक गेम्स भएको २ वर्ष पछि हुने विन्टर ओलम्पिक यस पटक दक्षिण कोरियामा फेब्रुअरु ९ देखि २५ सम्म आयोजना हुँदैछ।

 

पारा ओलम्पिक गेम्स

पारा एथलेटहरुको लागि आयोजना हुने पारा ओलम्पिक गेम्स विन्टर ओलम्पिक सकेपछि आयोजना हुनेछ। यो पनि प्रत्येक ४ वर्षमा हुनेछ। प्योङ चाङमा आयोजनजा हुने मार्च ९ देखि १८ सम्म आयोजना हुनेछ।

 

एसियन गेम्स

एसियाका राष्ट्रहरुबीच प्रतिस्पर्धा हुने एसियन गेम्स पनि यसै वर्ष आयोजना हुनेछ। प्रत्येक चार वर्षमा हुने अगस्ट १८ देखि सेप्टेम्वर २ सम्म इन्डोनेसियाको जाकार्तामा हुनेछ।

 

क्रिकेटमा दुई वर्ल्ड कप

२०१८ मा क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता वर्ल्ड कप त हुने छैन। तर यस वर्ष महिलातर्फको आइसीसी टी-२० वर्ल्ड कप र आइसीसी यू-१९ वर्ल्ड कप क्रिकेट प्रतियोगिता हुनेछ।  

महिला टि-२० वर्ल्ड कप नोभेम्वर ३ देखि २४ सम्म वेष्ट इन्डिजमा हुनेछ। यस्तै यू-१९ वर्ल्ड कप जनवरी १३ देखि फेब्रुअरी ३ सम्म न्यूजिल्याण्डमा आयोजना हुनेछ।
 

टुरे डे फ्रान्स

विश्व साइक्लिङमा चर्चित प्रतियोगिता हो टुर डे फ्रान्स। फ्रान्सको विभिन्न स्थानमा हुने टुर डे फ्रान्समा कूल २१ स्टेज हुन्छ भने ३ हजार ३२९ किलोमिटर दुरी साइकलबाट पूरा गरिन्छ।

यस पटक जुलाई ७ देखि २९ सम्म टुर डे फ्रान्स हुनेछ।

 

चार ग्रान्डस्लाम

टेनिस खेलन्तर्गत प्रत्येक वर्ष चार ठूलो प्रतियोगिता हुने गर्छ। जसलाई ग्राण्डसलाम टुर्नामेन्ट भनिन्छ। त्यअन्तर्गत वर्षको पहिलो ग्रान्डसलाम अष्ट्रेलियन ओपन यही जनवरी १५ देखि २८ सम्म अष्ट्रेलियाको मेलवर्नमा हादैछ। यस्तै फ्रेन्च ओपन मे मा, विम्बलडन ओपन जुलाई तथा युएस ओपन अगस्टमा हुनेछ।

 

वर्ल्ड भलिबल च्याम्पियनसनसिप

वर्ष २०१८ मा भलिबलका दुई ठूला प्रतियोगिता हुँदैछन्। महिला र पुरुष दुवै विधाको वर्ल्ड भलिबल च्याम्पियनसिप सेप्टेम्वरमा आयोजना हुनेछ। पुरुष वर्ल्ड भलिबल च्याम्पियनसिप सेप्टेम्वर १० देखि ३० सम्म इटली र बुल्गेरियामा हुनेछ। यस्तै महिला वर्ल्ड भलिबल च्याम्पियनसिप सेप्टेम्वर ३० देखि अक्टोबर २१ सम्म जापानमा हुनेछ।

 

युरोपियन च्याम्पियनसिप

अगस्ट २ देखि १२ सम्म जर्मनी र स्कटल्याण्डमा हुने युरोपियन च्याम्पियनसिपमा विभिन्न ७ खेल समावेश हुनेछ। यो नयाँ स्पोर्टिङ इभेन्ट हो, जसमा एथलेटिक्स, एक्वाएटिक्स, साइङ्कलिङ, गल्फ, जिम्न्यास्टिक, रोविङ र ट्रायथलन मा प्रतिस्पर्धा हुनेछ।

 

यसबाहेक क्रिकेटतर्फ टेष्ट  वान डे र टी-२० श्रृखंलाहरु हुनेछन्। यसैगरी बास्केटबल, गल्फ, रग्वी, फर्मुला वान, हक्की लगायत विभिन्न प्रतियोगिताहरु २०१८ मा हुनेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell