काठमाडौँ : काठमाडौँ महानगरपालिकाले रानीपोखरीको पुनःनिर्माणका लागि सर्वसाधारणसँग आजदेखि सुझाव मागेको छ। महानगरपालिकाका प्रशासकीय अधिकृत धनीराम शर्माका अनुसार आजदेखि पाँच दिनका लागि सुझाव दिन खुला गरिएको छ।
सर्वसाधारणले विज्ञ समूहको सचिवालय राष्ट्रियसभा गृह, इमेल र फोनमार्फत आफूलाई लागेको कुरा सुझावका रुपमा दिन सक्नेछन्।
देशविदेशका धेरै ठाउँको जल प्रयोग गरिएको ‘विष्णुतीर्थ’ पुनःनिर्माणका क्रममा कंक्रिट प्रयोग गरेको भन्दै विवाद उत्पन्न भएको थियो।
विवाद समाधान गर्न बिहीबार पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समूह निर्माण गरिएको छ।
विज्ञ समूहको सोमबार बसेको पहिलो बैठकले सर्वसाधारणसँग पनि सुझाव लिने निर्णय गरेको थियो। सुझावका आधारमा पोखरीको उत्खनन् पनि गरिने छ। रानीपोखरी पुनःनिर्माणका लागि गत बिहीबार प्रताप मल्लकालीन शैलीमै बनाउने निर्णय पनि भइसकेको छ।
विसं २०७२ को भूकम्पले रानीपोखरी र बालगोपालेश्वर मन्दिर पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए। क्षतिग्रस्त पोखरी पुनःनिर्माणमा कङ्क्रिट प्रयोग गरिएको जनाउँदै सम्पदाविद् र सर्वसाधारणले विरोध गरेपछि काम अघि बढ्न सकेको छैन।रासस