PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

डिपीएलमा प्रत्येक टिमले दुई विदेशी खेलाडी राख्नुपर्ने, अरु के के छन् विशेषता?



पहिलोपोस्ट

डिपीएलमा प्रत्येक टिमले दुई विदेशी खेलाडी राख्नुपर्ने, अरु के के छन् विशेषता?

काठमाडौं : धनगढी प्रिमियर लिग (डिपीएल-२) टी-२० क्रिकेट प्रतियोगितामा सहभागि टिमले २ विदेशी खेलाडी राख्नुपर्ने भएको छ। बिहीबार आयोजक धनगढी क्रिकेट एकेडेमी डिसिएले इसेवासँग टिकेटिङ पार्टनरको लागि सम्झौता गर्दा उक्त घोषणा गरेको हो।

'गत वर्ष नै विदेशी खेलाडी राख्ने योजना गरेका थियौँ। तर सहभागि टिमसँगको मुचुअल अन्डरस्ट्यान्डिङमा यो पटकबाट राख्ने सहमति भएको थियो। सोही अनुसार यस पटकबाट दुई विदेशी खेलाडी प्रत्येक टिमले राख्नुपर्नेछ।' डिसिएका अध्यक्ष सुवास शाहीले भने।

गत वर्ष डिसिएले राष्ट्रिय रुपमै अक्सन गरेर सिटी बेस फ्रेन्चाइज क्रिकेटको सुरुवात गरेको थियो। यसपटक पनि नयाँ प्रयोग गर्दै अगाडी बढ्ने शाहीले बताए।

दुई विदेशीसँगै प्रत्येक टिमले ट्यालेन्ट हन्टबाट एक खेलाडी अनिवार्य राख्नुपर्नेछ। शाहीका अनुसार धनगढीमा हुने ट्यालेन्ट हन्टबाट सुदूरपश्चिमका एक खेलाडी राख्नुपर्छ। 'गत वर्ष सुदूरपश्चिमका खेलाडी धेरै परेनन् भनेर आयोजक सम्म गुनासाहरु आए। त्यसैलाई मध्यनजर गर्दै यस पटक हरेक टिमले सुदूरपश्चिमको पनि एक खेलाडी राख्नुपर्ने प्रावधान बनाएको हो।' शाहीले भने।

यसपटक पनि ६ टिमको सहभागिता रहनेछ र प्रत्येक टिममा १५-१५ खेलाडी हुनेछन्।

अंघिल्लो साता काठमाडौंमा सम्पन्न इपीएलमा प्रत्येक टिमले ३ विदेशी खेलाडी राखेका थिए।

डिपीएल २ चैत १७ देखि धनगढीमा सुरु हुने पनि बिहीबारै जानकारी गराइएको छ। 'हामीले नेपालले भाग लिने डिभिजन २ र वर्ल्डकप क्वालिफायर पछि यस प्रतियोगिताको मिति तेकेका छौँ।' शाहीले प्रष्ट पारे। 'यदी त्यसपछि पनि नेपालको क्याडेन्डसँग मिति जुधेमा हामी नेशनल फस्ट अवधारणामा जानेछौँ। अहिलेलाई यही मिति नै तय भएको छ।'

यसअघि माघ ५ गतेबाट डिपिएल २ गर्ने घोषणा भएको थियो। तर डब्लुसिएलको शीर्ष चारमा पर्न नसकेपछि नेपाल डिभिजन २ मा घटुवा भयोर उक्त प्रतियोगिता खेल्नुपर्ने कारण डिपिएलको मिति सारिएको हो।

 

खेलाडी दर्ता सुरु

अक्सनमनै आधारित हुने डिपिएल २ को खेलाडी दर्ता पनि बिहिबारबाटै सुरु हुनेछ। राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले आफ्नो नाम दर्ता गर्दै दर्ता प्रकियाको सुरुवात गरे।

प्रतियोगितामा सहभागि हुने खेलाडीले सुरुमा टिकेटिङ पार्टनरका रुपमा रहेको इसेवाबाट बार कोड लिइ www.dplofficial.com मा गएर दर्ता गर्न सक्नेछन्। त्यसको भुक्तानी इसेवामार्फत गर्नुपर्नेछ।

पुस २० गतेबाट सुरु भइ माघ २५ गतेसम्म चल्नेछ। दर्ता भएका खेलाडीहरुलाई अक्सनमा समावेश गरिनेछ। अक्सन फागुन ५ गते हुने आयोजकले जनाएको छ। अक्सन अघि नै डिपीएल २ खेल्ने टिम र रणनीतिक खेलाडीको घोषणा हुने आयोजकले जनाएको छ। यसअघि मार्क्यु प्लेअरको घोषणा हुने गरेपनि डिपीएलमा भने नयाँ प्रयोग स्वरुप रणनीतिक खेलाडी राख्न लागेको अध्यक्ष शाहीले बताए।

यस्तै अक्सनमा सहभागि हुने खेलाडीको बेस अमाउन्ट पनि केही समयपछि फाइनल गरिने शाहीले जानकारी दिए। 'यस पटक अघिल्लो पटक भन्दा बेस अमान्ट बढी हुनेछ र हामी चाँडै नै यसको तय गर्नेछौँ।' शाहीले भने।

 

खेलाडी दर्ताका लागि ३ क्याटेगोरी

डिपिएल खेल्ने खेलाडीले आफ्नो नाम दर्ता गर्दा ३ क्याटेगोरी छुट्टयाइएको छ। क्याटेऊवरीमा ए मा राष्ट्रिय टिमबाट १५ खेल खेलिसकेका वा नेपालका लागि कम्तीमा ३ वर्ष खेलिसकेको खेलाडी हुनेछन्। यस्तै क्याटेगोरी बी मा त्यसबाहेकका राष्ट्रिय खलाडी, विभिन्न उमेर समूहमा नेपालको लागि प्रतिनिधित्व गरेका खेलाडी रहनेछन्।

क्याटेगोरी सी मा भने अनक्याप्ट खेलाडी हुनेछन्।

 

विजेतालाई सर्वाधिक नगद पुरस्कार

डिपिएल २ को विजेताले नगद २५ लाख हात पार्नेछन्। जुन नेपालको क्रिकेट इतिहासमै सर्वाधिक नगद पुरस्कार हुनेछ। यसअघि गत वर्ष डिपिएलको विजेताले नगद १५ लाख हात पारेका थिए। गत साता सम्पन्न इपीएलको विजेताले नगद २१ लाख प्राप्त गरेको थियो। त्यो नै अहिलेसम्मको सर्वाधिक पुरस्कार हो।

डिपिएल २ को उपविजेताले १० लाख तथा तेस्रो र चौथौ हुने क्रमश: ३ र २ लाख पाउनेछन्।

यस्तै प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद १० हजार तथा म्यान अफ दी सिरिजले टिभिएस अपाचे १८० सीसीको मोटरसाइकल पाउनेछन्। उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले पनि पुरस्कार पाउनेछन्। कूल पुरस्कारका लागि ५० लाख खर्च हुने डिपीएलको अनुमानित लागत ३ करोड रहेको आयोजकले जनाएको छ।

यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि एक पूर्व खेलाडीलाई धनगढी क्रिकेट सम्मान तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान गरेका १ व्यक्तिलाई अर्जुन खड्का स्मृति सम्मान स्वरुप १-१ लाख रुपंयाँ प्रदान गरिने छ।

 

सिंगल राउण्ड रोविनको आधारमा खेलाइने प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोली प्लेअफका लागि छनोट हुनेछन्। प्लेअफमा पहिलो र दोस्रो हुने टिमबीच फाइनल प्रवेशका लागि खेल हुनेछ। विजेता फाइनल पुग्नेछ। यस्तै तेस्रो र चौथौ हुने खेलको विजेतासँग प्लेअफको पहिलो खेलमा पराजित हुनेले फाइनल प्रवेशका लागि फेरी खेल्न पाउनेछ।

डिपीएल २ धनगढी सहरमा रहेको अञ्चल प्रहरी मैदान एसएसपी क्रिकेट ग्राउण्डमा हुनेछ।

प्रतियोगितामा टिकट बिक्रिबाट उडेको रकमको २० प्रतिशत रकम फाप्ला अन्तर्राष्ट्रिय निर्माण अभियानलाई छुट्याइनेछ। यस्तै सहभागि टिमलाई ४० प्रतिशत रकम बाँडिनेछ। प्रतियोगिता हेर्न दर्शकले लिग चरणमा ५०, प्लेअफमा ७० तथा फाइनलमा सय रुपंयाँ तिर्नुपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell