काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीको तीन दिने निर्वाचन समीक्षा बैठकले हारको मुख्य कारण पार्टी विभाजन भएको निष्कर्ष निकालेको छ।
राजधानीस्थित नयाँ बानेश्वरमा भएको केन्द्रीय कार्यसमितिको बैठकले राप्रपासँग सहकार्य गरेका दललाई धन्यवाद दिदैं पार्टी पराजयको कारण निर्वाचनको पुर्व सन्ध्यामा गरिएको पार्टी विभाजन भएको निष्कर्ष निकालेको हो।
बैठक सम्पन्न भएसँगै राप्रपाले नौ बुँदे विज्ञप्ती जारी गरेको छ।
पार्टी हारका अन्य कारण
विज्ञप्तिमा पार्टी हारको अन्य कारण पनि उल्लेख गरिएको छ। बलियो र प्रभावकारी लोकतान्त्रिक गठबन्धन निर्माण हुन नसक्नु, लिखित रुपमा भएको सम्झौता अनुरुप नेपाली कांग्रेसले राप्रपालाई प्रतिनिधिसभा र प्रदेशसभामा सिट नदिनु तथा स्थानिय तहमा ईमान्दारितापूर्ण सहकार्य नहुनु र राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष तर्फ अत्यन्त न्युन स्थानमा मात्र उमेदरवारी दिनु र अधिकांश क्षेत्रहरुमा राप्रपाको प्रत्यक्ष तर्फ उमेदवार नहुनु जस्ता विषयलाई हारका अन्य कारणमा राखिएको छ।
यसैगरी -संबिधान संशोधन वारे राप्रपाको स्पष्ट अडान र धारणा नरहनु, सरकारमा राप्रपाको सहभागिताका सम्बन्धमा जनतामा रहेको भ्रमको निराकरण हुन नसक्नु तथा कार्यकर्ताहरुमा पार्टी सरकारमा रहेको अनुभूति नहुनु, साधन श्रोतको अभाव, कमजोर संगठनको कारण जनमतलाई भोटमा रुपान्तरण गर्न नसक्नु र सिद्धान्त प्रति पार्टी नेतृत्व प्रतिबद्ध नरहेको भ्रम जनतामा पर्नुलाई हारको कारणमा समेटिएको छ।
पार्टीका प्रवक्ता भुवन पाठकद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टी हारको विस्तृत अनुसन्धान गरी भविष्यका लागि सुझाव सहितको प्रतिवेदन तयार गर्न डा. बिष्णु भण्डारीको संयोजकत्वमा निर्वाचन समिक्षा तथा अध्ययन समिति गठन गरेको छ। समितिमा केन्द्रीय सदस्यहरु गोविन्द खनिया, भक्ति सिटौला, चन्द्रेश्वर राय यादव, धन बहादुर बुढा, प्रकाश रिमाल, बिजयलक्ष्मी सिंह र श्याम शाही सदस्य रहेका छन्।
त्यसैगरी राप्रपाले बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने क्रममा समान बिचारधारा भएका राजनीतिक दल र समुहलाई एकताकाका लागि आह्वान गरेको छ।
बैठकले पार्टीको बैचारिक एवं सांगठनिक कार्यदिशा, रणनीति र कार्यक्रम तयार गर्न केन्द्रिय परिषदको बैठक फाल्गुणको अन्तिम हप्ता बिरगंजमा आयोजना निर्णय गरेको छ।