PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'शिकारी आँखा' : कविता



पहिलोपोस्ट

'शिकारी आँखा' : कविता
स्केच साभार : http://www.reflectiveartinc.com

  • भावना शर्मा


बुट्टेदार खाँबो मुसार्दै उभिइरहेछन् काजीसाब

पुरानो घरको बार्दलीमा

जाडो छल्न तराई झरेकै दिन

उनले चुपचाप सुम्सुम्याए उही खाँबो

जहाँ उनी रिंगटा लाग्नेगरी फन्का मार्थे सानामा

जालैजालोले छोपेछ दलिन

जहाँ घुसारेका थिए उनले केही थान गुलेली

भित्ताभरी लहरै छन् धमिलिएका तस्वीरहरु

तस्वीर धमिलिएपनि

सङ्लै छन् सम्झना

काजीसाबलार्इ लखेटिरह्यो फेरि उनै दिनले। 

 

.........................

 

तस्वीरमा बाघको टाउको टेकेर

शानले उभिएका छन् जिजुबाजे

जुङ्गाको मुठो देख्दा तर्सिन्थे उनी सानामा पनि

तस्वीरमा जिजुबाजे 

बाघ मारेर फर्किएका ज्यूँदा बाघ झैं लाग्छन्

 

............................

पूर्बको भित्तोको त्यो कालो फ्रेममा

बार्हसिङ्गेको टाउको उचाल्ने हजूरबुबा

काँधमा राइफल घुँडासम्मको लामो बुटमा

शासक झैं छन् हजूरबुबा

नजानिदोँ तनक्क तन्कन्छन् काजीसाब

 

..........................

भर्याङको छेवैमा यो बुट्टेदार फ्रेमभित्र

धप्प बलेको छ बुवाहजूरको अनुहार

शिकारमा पोख्त बुवाहजूर यसरी बन डुल्थे

मानौं उनै हुन् बनका राजा!

यहि बनमा साना काजीसाबलार्इ बोकेरै

बुबाहजूरले शिकार गरेथे

छिर्केमिर्के त्यो सानो हरिण

छटपटिएर उनकै पैतालामा घोप्टिएको

कसरी बिर्सन सक्छन् काजीसाब!

हेर अझै उसैगरी लत्रिएको छ

त्यो बुट्टेदार हरिण बुबाहजूरकै काँधमा.......

 

..............................

 

शिकारीका छोरा

शिकारीका नाती

शिकारीका  पनाती

काजीसाब, गमक्क फूल्छन् शानले!

उनलार्इ याद छ

बुबाहजूर अक्सर भनिरहन्थे

‘शिकारमा जत्तिको खतरनाक मज्जा

अरु के मा छ र!’

 

..........................

कमलीऽऽऽऽऽऽ

पर आँगनमा झाडु लाउँदै गरेकी कमली

आमातिर खुरुरु दौडिँन्छे

यहिँ मौजाको चौकीदार कमलीका बा

काजीसाबको चाकरमा छ

 

...............................

यो के?

सानामा खाँबोमा उसैगरी फनन कुद्दा झैं

रिंगिइरहेछन् काजीसाब

नोस्टाल्जिया !

लखेट्दैछ पर पर....

भयंकर नोस्टाल्जिया.....

आँखा तन्काउँदै/चिम्म गर्दै हेर्दैछन्

बुबा हजूरले शिकार गरिबक्से जस्तै

बुट्टेदार हरिण दौडिरहेछ

उस्तै ठूला काला आँखा गरेको हरिण

म तिरै दौडिरहेछ

ओहो!

के त्यो...फेरि...पैतालामै...घोप्टिएला???

त्यो गर्धन....फेरि....काँधमै...लत्रिएला...???

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell