काठमाडौं : चिकित्साशास्त्र अध्यन संस्थान (आइओएम)ले निर्धारण गरेको सिट सङ्ख्या बढाउन दुई महिनादेखि सिट सदर नगरि बसेको त्रिवि कार्यकारी परिषद्ले अन्तत: आइओएमले निर्धारण गरेको सिट संख्यालाई सदर गरेको छ।
त्रिवि कार्यकारी परिषदको यो निर्णयपछि एबबिबिएस अध्यनको लागि नयाँ भर्नाको बाटो खुलेको छ। त्रिवि पदाधिकारीले चौतर्फी दबाबपछि आइओएमले सिफारिस गरेको सिट संख्यालाई नै सदर गरेको हुन्।
आइओएमले एमबिबिएसमा महाराजगञ्ज मेडिकल कलेजको ७६, किष्ट मेडिकल कलेज ललितपुरको ९०, गण्डकी मेडिकल कलेज पोखराको ९०, नेसनल मेडिकल कलेज वीरगञ्जको ९०, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको १००, चितवन मेडिकल कलेजको ९०, युनिभर्सल मेडिकल कलेज भैरहवाको १०० र जानकी मेडिकल कलेज जनकपुरको ८० सिट निर्धारण गरी त्रिविमा पठाएको थियो। कार्यकारी परिषदले सोही सिट संख्या स्वीकृत गरेको हो।
त्रिविले सिट सङ्ख्या स्वीकृत गर्न ढिलाई गरेपछि आइओएमले नयाँ विद्यार्थी भर्नाका लागि 'ओपन हाउस काउन्सिलिङ' सुरु गर्ने भन्दै गत शुक्रवार सार्वजानिक सूचना समेत निकालेको थियो। आइओएमले पुस २६ गतेदेखि विद्यार्थीसँग प्रवेश परीक्षाको योग्यताक्रम (मेरिट)मा अगाडि रहेकालाई परामर्श दिने भएको हो।