धनगढी : ए डिभिजन क्लब सिएमजी संकटा धनगढीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रित नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
धनगढी रंगशालामा आज भएको खेलमा धरान फुटबल क्लबलाई पेनाल्टीसुटआउटमा ५–४ ले पराजित गर्दै संकटाले अन्तिम आठमा स्थान बनाएको हो। संकटाले अब क्वाटरफाइनलमा एपीएफसँग खेल्नेछ। यस खेलको विजेताले सेमिफाइनलमा आयोजक सुदूरपश्चिम-११ सँग प्रतिस्पर्धा गर्नेछ।
जारी प्रतियोगितामा पेनाल्टी सुटआउटबाट खेलको निर्णय भएको यो लगातार तेस्रो खेल हो।
पहिलो हाफमा पाएको पेनाल्टी र दर्जनौँ गोल गर्ने मौका गुमाएको धरान पेनाल्टीसुटआउटमा पनि अभागी सावित भयो।
पहिलो हाफको २६औं मिनेटमा धरानले पेनाल्टीको अवसर प्राप्त गरेपनि प्रकाश बुढाठ्ठोकीले गोल गर्न सकेनन्। वुढाथोकीको पेनाल्टी प्रहारलाई संकटाका गोलरक्षक विनय श्रेष्ठले बचाएका थिए।
सुरुमा ५/५ पेनाल्टी प्राहर गरिएकोमा दुवै टीमले ३-३ गोल गरेपछि थप २/२ वटा पेनाल्टी प्रहार गरिएको थियो। जसमा संकटाका दुवै खेलाडी गोल गर्न सफल भए भने धरानले एक गोल मात्र थप्न सक्यो।
धारनका अर्का खेलाडीको प्रहारलाई संकटाका गोलरक्षक विनय श्रेष्ठले वचाए। दुई गोल रोकेर टिमलाई जिताएका उनी म्यान अफ द म्याच भए। म्यान अफ द म्याच भएका उनले नगद १० हजार हात पारे।
पेनाल्टी सुटआउटमा संकटाका अनिल गुरुङ, विश्व अधिकारी, सरोज दाहाल, सुजित थापा र अभिशेष रिजालले गोल गर्दा सुसिल लामा र भुष सुव्वाको प्रहार धरानका गोलरक्षक रोशन खड्काले बचाए। यसैगरी धरानका लागि वर्तमान राई, रोमन लिम्वु, सुरज विक र प्रकाश बुढाथोकीले पेनाल्टी प्रहारमा गोल गर्दा सन्जय राई र रोशन खड्काको प्रहारलाई संकटाका गोलरक्षक विजय श्रेष्ठले बचाए। धरानका सुवोश शाहीको पेनाल्टी प्रहार आउट भयो।
जितपछि संकटाका प्रशिक्षक सल्यान खड्गीले पहिलो हाफमा आफ्नो टीम दबाबमा रहेको र लामो यात्रा गर्दा खेल्न केही समस्या भएपनि दोस्रो हाफमा राम्रो खेल्न सकेका कारण जित हात पारेको प्रतिक्रिया दिए। धरान फुटवल क्लबका प्रशिक्षक अशोक राईले सोचे अनुसारकै खेलेपनि मैदानको बारेमा जानकारी नभएकोले नतिजा आफ्नो पक्षमा आउन नसकेको बताए।
प्रतियोगिताअन्तर्गत भोली १४ महिनापछि फुटबलमा पुनरागमन जनाउन लागेको राष्ट्रिय लिग च्याम्पियन थ्री स्टार क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुनेछ।