देशका एकमात्र ऋषितुल्य व्यक्तित्व, चेतनाका पहरेदार तथा अस्पताल सुधार कार्यका एक्ला अभियन्ता प्राध्यापक डा. गोविन्द केसी अनसनमा हुनुहुन्थ्यो। उहाँको अनशनलाई यो स्तम्भकारको खुला साथ र समर्थन थियो।
अहिले उहाँ अनशनमा हुनुहुन्छ कि हुनुहुन्न थाहा छैन। किनभने, अदालतले उहाँलाई अस्पताल पठाइदिएको छ।
यति थाह छ, सर्वोच्च अदालतको अवहेलना गरेवापत उहाँलाई सर्वोच्च अदालतकै आदेशमा पुलिसले पक्राउ गरेर एक रात थानामा राखेको थियो। आज बिहीवार २७ पुसका दिन अखबारमा छापिएको समाचार अनुसार, उहाँ रिहा भइसक्नु भएको छ।
यो पटकका लागि डा. केसीको यो भनाइ निकै लोकप्रिय भएको छ: “जसको मान नै छैन, त्यसको के अपमान?” हो त, मान भएको मानिसको पो अपमान हुन्छ। कसको मान छ? कसको छैन? यो निर्क्यौल गर्ने काम डा.गोविन्द केसीकै हो। आजको मितिमा यो देशमा उहाँमात्र एकजना यस्ता त्रिकालदर्शी हुनुहुन्छ जसले समाजमा कसको मान छ र कसको छैन त्यो बताइदिन्छ।
स्तम्भकारको जानकारीमा रहेको तथ्य र सूचनाको आधारमा यति त भन्न सकिन्छ- प्रधान न्यायाधीश गोपाल पराजुली मान नै नभएका व्यक्ति होइनन्। उनको विद्यार्थी जीवन प्रजातन्त्रका लागि भएको कठोर संघर्षमा बितेको हो। पन्चायतकालमा पुलिसले निर्घात पिटेर धूलो–पीठो बनाएको उनको शरीर निकै दह्रो छ। वाम गठबन्धनको समयमा खाली कांग्रेस भएकै कारणले उनीमाथि अनेक फत्तूर लगाउने हो भने त थाह छैन। अहिले त्यस्तै भइरहेको छ। केही चैते–असारे कांग्रेसीहरुको कारण यो पार्टी आलोचित छ। यसमा शंका छैन। तर, प्रधान न्यायाधीश पराजुलीको रुपान्तरण नवधनिक वर्गका प्रतिनिधिमा होला भन्ने विश्वास मलाइ छैन। दोहोरो नागरिकता लिएर आफ्ना लागि आफै दशा निम्त्याउने खालका मान्छे होइनन् प्रधान न्यायाधीश पराजुली। यसमा मलाई कुनै शंका छैन।
वास्तवमा, डा.गोविन्द केसी नेपालका मेडिकल कलेजहरुलाई नेपाली विद्यार्थी–मैत्री बनाउन चाहनुहुन्छ। यो सारै ठूलो कुरा हो। डा.केसीले नेपालका मेडिकल कलेजहरुलाई गरीब नेपाली विद्यार्थी–मैत्री बनाउन खोज्नु भएको हो कि होइन त्यसको ज्ञान मलाइ छैन। उहाँले सार्वजनिक अस्पतालहरुमा सामान्य जनताको सुविधाका लागि आन्दोलन गर्नु भएको जस्तो लाग्दैन। त्यस्तै अर्बौंका लागतमा खुलेका अस्पतालका वेथिति, ती अस्पतालमा हुने विरामीको शोषणबारे पनि उहाँले केही बोल्नु भएको छ जस्तो लाग्दैन। उहाँका समर्थकहरुको कुनै कमी छैन। तर, अनशन बस्दा उहाँ एक्लै बस्नुहुन्छ। उहाँका कुनै समर्थक उहाँसँगै अनशन बसेको अहिलेसम्म देखिएको छैन।
यो पटक उहाँ किन अनशन बस्नु भएको थियो ? कारणको ज्ञान मलाई छैन। थियो भने पनि मैले बिर्सिइसकेँ। समयक्रममा डा.गोविन्द केसीले आफ्नो अनशनलाई नियमित आवश्यकताको रुपदिइसक्नु भएको छ। अनशनको समर्थन नगर्दा देशद्रोहीको धव्वालाग्ने डर हुन्छ। त्यसैले अनशनको समर्थन गर्नुको विकल्प छैन।
डा.केसी मृदुभाषी हुनुहुन्छ। भलादमी र गुणी हुनुहुन्छ। तर, यो पटकको अनशनपछि डा.केसीले प्रधान न्यायाधीशलाई संकेत गर्दै जुन अभिव्यक्ति दिनुभयो तिनका शव्दको भावाभिव्यक्ति क्रुर थिए। डा.केसीको दिमागमा अभिमानको तर लटक्क जमेको थियो। उहाँका लागि त्यो तरले अभिमानको काम गरेको छ। यो पनि उत्तिकै सत्य हो। उहाँसँग भाषा, भाव र भंगिमा नभएको होइन। तर, उहाँ शायद “सन्त” को समकक्षी बन्नु भएकोले होला, मानिसप्रतिको प्रतिष्ठामा उहाँको ध्यान गएको देखिएन यो पटक।
अहिलेसम्म डा.केसीको बजार भाउ ओर्लिएको छैन। उहाँ लोकप्रिय हुनुहुन्छ। तर, उहाँको यो लोकप्रियताको मूल्य सर्वसाधारण जनताले चुकाएका छन्। उहाँ जुन दिनदेखि अनशन बस्नुहुन्छ त्यसदिनदेखि नेपालका, खासगरी काठमाडौं उपत्यकाका, अस्पतालहरु अस्तव्यस्त हुन्छन्। औषधि उपचारमा लागेका स्वास्थ्यकर्मीहरुको ध्यान अनावश्यक अस्तव्यस्ततामा केन्द्रित हुन्छ। निश्चय पनि, यो राम्रो होइन।
डा.गोविन्द केसीको त्याग तपस्या समर्पण जस्ता गुणहरुको कदर हुनु पर्दछ। तर, डा.केसी संविधान, ऐन–कानून, विधि–विधान र नीति–नियमभन्दा माथि हुनुहुन्न। अनशनको उहाँको शैली महात्मा गान्धीको शैली हो। गान्धी आफ्नो आत्मशुध्दिका लागि अनशन बस्नु हुन्थ्यो। तर, डा.केसीले अनशनलाई वार्गेनिङ टूल बनाउनु भएको छ। डा.केसी जस्ता व्यक्तित्व नीति–निर्माताको बीचमा बसेर सुधारका लागि सक्दो बढी सक्रिय हुनुपर्दछ। अनशनको उपादेयता धेरै लामो समय रहँदैन।