PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

मिनी ट्रक दुर्घटनामा एकको मृत्यु, तीनको अवस्था गम्भीर



पहिलोपोस्ट

मिनी ट्रक दुर्घटनामा एकको मृत्यु, तीनको अवस्था गम्भीर

नुवाकोट: पासाङल्हामु सडकखण्डअन्तर्गत बेलकोटगढी नगरपालिका–११ अमारेमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन्। ककनीबाट आइतबार साँझ बट्टारतर्फ आउँदै गरेको ना २ क ५३७५ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा बेलकोटगढी–१३ का आशीष तामाङको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका १७ वर्षीय तामाङलाई उपचारका लागि काठमाडौँतर्फ लैजाँदै गर्दा बीच बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए। शव परीक्षणका लागि जिल्ला अस्पताल त्रिशुलीमा ल्याइएको छ।

दुर्घटनामा गाडी चालक ककनी गाउँपालिका–४ का २५ वर्षीय कुमार तामाङ, सोही स्थानका १७ वर्षीय किरण लामा र सहचालक किस्पाङ गाउँपालिकाको १७ वर्षीय कुमार तामाङ घाइते भएकाले ग्रीन सिटी अस्पताल काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रनाउ रेग्मीका अनुसार उनीहरुको अवस्था गम्भीर छ।

निर्माण सामग्री लिन बट्टार आउँदै गरेको मिनी ट्रक तीव्र गतिमा भएकाले असन्तुलित भई दुर्घटना हुँदा सडकबाट ८० मिटर तल पुगेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell