काठमाडौं : नेपाली महिला भलिबलमा उत्कृष्ट प्रदर्शन गर्दै छुट्टै पहिचान बनाउन सफल नैकापको न्यू डायमण्ड एकेडेमीले अब राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै न्यू डायमण्डको आयोजना तथा शिवम् सिमेन्टको प्रायोजनमा 'प्रथम शिवम् न्यू डायमण्ड कप राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता-२०७४' यही माघ २१ देखि २३ गतेसम्म गर्ने जानकारी दिइएको हो।
गोंगवुको ढोरपाटन स्पोर्ट्स ट्रेनिङ सेन्टरमा हुने प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। अहिले भइरहेको १३औँ ढोरपाटन महिला डबल लिगको शीर्ष ६ स्थानमा रहने टिमले प्रतियोगितामा सहभागिता जनाउने प्रतियोगिताका संयोजक कुमार राईले बताए। सहभागि टोलीलाई दुई समूहमा विभाजन गरेर लिगकम नकआउटका आधारमा खेलाइनेछ।
गत भदौमा न्यू डायमण्डलाई शिवम् सिमेन्टले एक वर्षको लागि ८ लाख नगद प्रायोजन गर्ने र त्यसवापत न्यू डायमण्डले एउटा प्रतियोगिता गर्नुपर्ने सम्झौता भएको थियो। जसमा ३ लाख न्यू डायमण्डले प्रायोजन वापत पाउने र ५ लाख प्रतियोगिताको लागि खर्चे गर्ने सम्झौता थियो।
'साना नालीहरुलाई भलिबल प्रशिक्षण गर्दै एक दशक बितायौँ। केही समयअघि शेर बहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको भलिबलमा शिवम् र हाम्रो भेट भएको थियो। त्यसबेला हामीले सहकार्य गरेका थियौँ।' न्यू डायमण्डका प्रिन्सिपल समेत रहेका राईले भने। 'अहिले शिवम् र न्यू डायमण्ड मिलेर शिवमु न्यू डायमण्ड भएका छौँ। त्यसैको फलस्वरुप हामीले अब भलिबल टुर्नामेन्ट गर्दैछौँ।'
यस्तै शिवम् सिमेन्टका सेल्स तथा मार्केटिङका उपाध्यक्ष सजन देवकोटाले न्यू डायमण्डले उत्कृष्ट खेल खेलेजस्तै अब उत्कृष्ट प्रतियोगिता गरेर देखाउने विश्वास व्यक्त गरे। 'जसरी डायमण्डले उत्कृष्ट खेल खेलेर सबैको मन जितेको छ। अब खेल्ने मात्र होइन उत्कृष्ट प्रतियोगिता समेत गरेर देखाउँछ।'
प्रतियोगिताका संयोजक राईले अर्को वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिने र यो भन्दा धेरै राम्रो प्रतियोगिता गर्ने बताए।
'यो पटक धेरै कार्यक्रमहरु भएका कारण समय अभाव भएकाले ६ टिम मात्र समावेश गरेका छौँ। दोस्रो संस्करणमा अझ धेरै टिम सहभागि गराउने छौँ।' राईले दोस्रो संस्करण गर्ने भएर नै यसपटक प्रथम शिवम् कप नाम राखेको प्रष्ट पारे।
३ दिन चल्ने प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार तथा उवविजेताले १ लाख १ हजार हात पार्नेछन्। यस्तै तेस्रो हुनेले ५१ तथा चौथोले २१ हजार पाउनेछ।
शुक्रवारै शिवम् सिमेन्टले यसअघि भएको सम्झौता अनुसार प्रतियोगिताको मुख्य प्रायोजन वापत ५ लाखको चेक प्रतियोगिताका संयोजक कुमार राईलाई हस्तानतरण गरेका छन्।
दोस्रो पुरस्कार नारायण बहादुर महर्जनले प्रायोजन गर्नेछन् भने चौथो पुरस्कार नेपाल जापान भलिबल संघका अध्यक्ष कुमार गुरुङले प्रायोजन गर्ने शुक्रबारकै कार्यक्रमा घोषणा गरे।