PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

धर्मको आवरणमा अपराध : त्रासले उजुरी दिन पनि डराउँछन् पीडित



सविन ढकाल

धर्मको आवरणमा अपराध : त्रासले उजुरी दिन पनि डराउँछन् पीडित

काठमाडौं : गत मंसिर ५ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले धर्मको आवरणमा अपराधिक गतिविधि गरेको भन्दै ५६ वर्षीय रिम्पोछे छुल्ठिम दोर्जे योन्जनलाई पक्राउ गर्योा। सिन्धुलीका बौद्ध 'धर्मगुरु' चाल्नाखेलस्थित गुम्बाबाट समातिए।

एक महिलाले आफुलाई धर्मगुरु रिम्पोछेले धर्मको त्रास देखाउँदै ६ वर्षदेखि यौन शोषण गरेको उजुरी प्रहरीमा दिएपछि आडम्बरी धर्मगुरु प्रहरीको नियन्त्रणमा परे। रिम्पोछेलाई यौनक्रिडाकै अवस्थामा पक्राउ गरेको प्रहरीको दावी छ। गुम्बामा अन्य ७ महिला तथा ३ पुरुष पनि थिए।

‘म अवतारी लामा हुँ। जस्तै रोग पनि निको पार्न सक्छु,‘शुरुमा यस्तै आश्वासन देखाएर रिम्पोछेले महिलाहरुलाई आफ्नो जालमा पार्थे। त्यसपछि उनले उनीहरुलाई यौन शोषण गर्ने गरेका थिए।

लामाले पीडित महिलाहरूलाई कसैलाई भनेमा ठूलो क्षति हुने, पुनः रोग बल्झिने भन्दै तर्साउँथे। रोगको उपचारका लागि गुरुसँगै यौन सम्बन्ध उनको उपचारको मेथड बताउँथे। र, अरुसित बिहे गरे मृत्यु पनि हुनसक्ने भन्दै तर्साउँथे। धार्मको नाममा त्रास फैलाउने गरेको पीडित महिलाले प्रहरीमा बयान दिएको डिआइजी पुष्कर कार्कीले बताए।

एक दशकदेखि रिम्पोछेले धर्मको नाममा अपराधिक गतिविधि गरेको खुले पनि उनी विरुद्ध उजुरी दिने भने एक जना बाहेक कोही भेटिएन। लामो समय लगाएर प्रहरीले अनुसन्धान त गर्यो तर उजुरी भने एक महिलाको मात्र थियो। अनुसन्धानमा खटिएका एक अधिकृत भन्छन्, 'धेरै महिला पीडित छन् तर धर्म र समाजको त्रासले उनीहरु उजुरी नै दिँदैनन्।'

दक्षिणकाली नगरपालिका चाल्नाखेलमा रिम्पोछेले आफ्नै लगानीमा पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बा स्थापना गरी अपराधिक गतिविधि संचालन गर्दै आएको खुलेको थियो। १० वर्षदेखि चाल्नाखेलमा सञ्चालित गुम्बा १२ रोपनी जग्गामा फैलिएको छ। 

रिम्पोछेले गुम्बा संचालन गर्न धर्मको नाम रकम उठाउने गरेको प्रहरी अनुसन्धान देखिएको हो। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, 'रिम्पोछेले धर्मको आडमा त्रास देखाएर पैसा माग्ने, नदिए धम्की समेत दिने गरेको भेटियो।' 

प्रहरीले धर्मगुरुलाई पैसा बुझाउने मानिसको पनि पहिचान गरेको छ तर उनीहरु प्रहरीमा उजुरीदिनै चाहँदैनन्। 

८ वर्ष अगाडि स्थानीयले गुम्बामा यौन शोषण भइरहेको भनेर तोडफोड समेत गरेका थिए। तर, प्रमाण भेटिन नसक्दा यो घटना त्यसै सेलाएको थियो। रिम्पोछे कसरी धर्मगुरु भए भन्ने पनि शंकाको घेरामा नै रहेको छ।

रिम्पोछे दश वर्ष अघि ट्रेकिङ व्यवसायमा संलग्न रहेकोसमेत खुलेको छ। ट्रेकिङ व्यवसायबाट कमाएको पैसाले नै उनले गुम्बामा रुपान्तरण गर्दै आर्थिकोपार्जनको नयाँ आधार खडा गरेका थिए। प्रहरी अधिकारी भन्छन्, ‘अनुसन्धानमा ट्रेकिङ व्यवसायी देखिएको छ। गत पुस ४ गते काठमाडौं जिल्ला अदालतले  धर्मगुरुलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell