PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

एमाले - माओवादी सैद्धान्तिक हिसाबकिताब : माओवादी भन्छ - समाजवादसहितको नयाँ कार्यदिशा, एमाले भन्छ - माओवादीले जबज स्वीकार्छ



पासाङ ठकुल्ला

एमाले - माओवादी सैद्धान्तिक हिसाबकिताब : माओवादी भन्छ - समाजवादसहितको नयाँ कार्यदिशा, एमाले भन्छ - माओवादीले जबज स्वीकार्छ

काठमाडौं: असोज १७ गते एमाले–माओवादीले सरप्राइज शैलीमा चुनावी तालमेल सहित पार्टी एकीकरण गर्ने उद्घोष गरे। 

निर्वाचन सम्पन्न भए लगतै पार्टी एकीकरण गर्ने घोषणा गरेको वाम गठबन्धनले निर्वाचनबाट बहुमत पनि प्राप्त गर्‍यो।

निर्वाचनपछि पार्टी एकताका प्रयास पनि भइरहेको छ तर टुंगो लागिसकेको छैन। निर्वाचनअघि नै पार्टी एकताका लागि पार्टी एकता संयोजन समितिसमेत बनेको थियो। 

तर, यो समितिले पनि पार्टी एकताका विषयलाई निष्कर्षमा पुर्‍याउन दुई पार्टीका अध्यक्ष केपी ओली र पुष्पकमल दाहल ‘प्रचण्ड’लाई जिम्मेवारी दियो। 

'पार्टी एकता छिट्टै हुन्छ'-शीर्ष नेताद्वयले प्राय कार्यक्रममा बोल्ने यो भाषण झन्डै नारा जस्तै बन्न थालिसकेको छ।

यद्यपि, पार्टी एकताबारे ठोस नयाँ कुरा भने केही बाहिरिएको छैन। 

एमालेको जबज र माओवादीको २१ औं शताब्दीको जनवाद यी सिद्धान्त एक अर्कामा अट्नै सक्दैनन् भनेर वैचारिक विमर्शसमेत सुरु भयो।
जसले गर्दा यी दुई पार्टीमा शीर्ष नेतासमेत एकतापछि यी सिद्धान्त कार्यदिशा के हुन्छ भनेर बहस गर्न बाध्य भए।

यसअघि एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले २१ औं शताब्दीको जनवादलाई आफ्नो पार्टी सिद्धान्त भनेका थिए। पार्टी एकतापछि फरक सिद्धान्त र कार्यदिशा भएका यी दुई पार्टीले अपनाउने सिद्धान्त के हुन्छ भन्ने कुरा निकै चासोको रुपमा लिइएको छ। 


सामन्तवादका अवशेषलाई अन्त्य गर्ने गरी नयाँ कार्यदिशामा नयाँ पार्टी : माओवादी प्रवक्ता भुसाल

नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल पार्टी एकतापछि समाजवादतिरको नयाँ कार्यदिशासहितको सिद्धान्त अपनाउने बताउँछिन्। 
पहिलोपोस्टसँग कुरा गर्दै भुसालले जनताको बहुदलीय जनवाद र २१ औं शताब्दीको जनवाद सामन्तवादको अन्त्य गर्न बनेका राजनीतिक उद्देश्यमा आधारित कार्यदिशा भएकोले अब यसको सान्दर्भिकता सकिएको बताइन्। 

भुसालले भनिन्, ‘यी सिद्धान्त सामन्तवादको अन्त्य गर्ने राजनीतिक उद्देश्यमा आधारित कार्यदिशा थिए। मुलत: सामन्तवादको अन्त्य भएको छ। पार्टी सामन्तवादका अवशेषलाई अन्त्य गर्ने गरेर नयाँ कार्यदिशामा नयाँ पार्टी बनाउने गरेर एकता गर्दैछौँ।’ 

सामन्तवादको अन्त्य भएसँगै एमाले माओवादीले मान्दै आएका सिद्धान्तको अन्त्य भएको भुसालको दाबी छ।  भुसाल भन्छिन्, 'दुवै पार्टीबीच समाजवादतिर जाने भनेर एकताको प्रक्रिया सुरु भएको हो।'


जनताको बहुदलीय जनवाद नै अब बन्ने पार्टीको सिद्धान्त : एमाले नेता रिमाल

यता एमालेका केही नेताले पनि पार्टी एकताप्रति जोड दिँदै जबजको च्याप्टर क्लोज भएको बताउन भ्याइसके। तर, एमाले नेता विष्णु रिमालले जबजको सान्दर्भिकता नसकिएको दावी गर्छन्। 

माओवादीले भनेको २१ औं शताब्दीको जनबाद भनेको माओवादबाट शान्तिपूर्ण राजनीतिमा रहेका दलहरुलाई भेटन आउने एक पुल भएको बताए। रिमालले भने, 'माओवादबाट शान्तिपूर्ण राजनीतिमा रहेका दलहरुलाई भेटन आउ्ने एक पुल थियो। त्यो पुल क्रसगरी आइसक्यो। माओवादीले त्यो पुल छ भनेर बस्ने कुरो भएन।' 

अहिले एमाले र माओवादी एकै घरका भइसकेको उनको दाबी छ। भन्छन्, ‘माओवादीले शान्ति सम्झौतामा आएर पुल पार गरिसकेको छ, अहिले हामी एकै घरमा छौं।’ 

नेता रिमालले जनताको बहुदलीय जनवाद(जबज) नै अब बन्ने पार्टीको सिद्धान्त हुने संकेत गरे। माओवादीले भनेको लोकतन्त्र पनि वर्गीय चरित्रको भएको जबज नै सिद्धान्त हुने भनाई उनको थियो। 

जबजको व्याख्या गर्दै उनले भने, 'जनताको बहुदालीय जनवाद भन्नाले शान्तिपूर्ण राजनीतिको दुई पाटोलाई जनाउ छ।  जनता शब्दको प्रयोगले वर्गीय चरित्रलाई जनाउँछ भने जनवादले अरुले भनेको जस्तै डेमोक्रेसी। जनताको जनवादका बीचमा बहुदलीय शब्द हालेका छौं।
किन भन्दा कम्युनिष्टहरु एक दलीय हुन्छ भनेर हेपे। हामी पनि बहुदलीय प्रतिस्पर्धाबाट तिमीहरुलाई जित्न सक्छौ भनेर बहुदलीय शब्दको प्रयोग गरिएको छ।' 

माओवादीहरु एमालेले भनेजस्तै वर्गीय चरित्रमा सहमत रहेको रिमालको दाबी रहेको छ। उनी भन्छन्, ‘हामीले भने गरेको जनवादको वर्गीय चरित्रमा उहाँहरु सहमत हुनुहन्छ, माओवादीले भनेको लोकतन्त्र वर्गीय चरित्र बिहीन त होइन नि।’  

शान्तिपूर्ण राजनीति प्रस्तिस्पर्धात्मक व्यवहार र लोकतन्त्रका अधारभुत मुल्यमान्यतालाई आत्मसात गर्दै समाजवाद तिर जाने उनको भनाई छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell