PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

ताजिकिस्तानी खेलाडीलाई हराएर कास्य पक्का गरेकी नेपाली बक्सर विमला भन्छिन् स्वर्ण र रजत जित्ने लक्ष्य छ



पहिलोपोस्ट

ताजिकिस्तानी खेलाडीलाई हराएर कास्य पक्का गरेकी नेपाली बक्सर विमला भन्छिन् स्वर्ण र रजत जित्ने लक्ष्य छ
फोटो : एनएसजेएफ

दिल्ली : भारतको नयाँ दिल्लीमा भइहरेको इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालकी विमला श्रेष्ठले कास्य पदक जितेकी छिन्।

दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा आइतबार राती भएको वेन्टम ५४ केजी तौल समूहमा विमलाले क्वाटरफाइनलमा ताजिकिस्तानकी फार्डिया सामिएभालाई पराजित गर्दै कास्य पदक जितेकी हुन्।

त्रिभुवन आर्मी क्लबकी विमलाले फार्डियालाई आरएसिको आधारमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेपछि कास्य पदक पक्का भएको हो।

विमलाको यो पहिलो अन्तर्राष्ट्रिय पदक समेत हो। आफ्नो दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक दिलाएकी हुन्।

प्रतियोगितामा नेपाललाई पहिलो पदक दिलाएपछि विमलाले स्वर्ण र रजत जित्ने लक्ष्य लिएको बताईन्। यसअघि भियतनाम सहभागिता जनाएकी विमलाले भनिन्, 'पहिलो अन्तर्रा्ष्ट्रिय पदक जितेको छु। एकदमै खुशी छु। अब अर्को चरणको खेलमा जित्ने लक्ष्यसहित रिङमा उत्रने छु।'

अब विमलाले सेमिफाइनलमा मंगलबार भारतीय खेलाडी मनिषासँग खेल्नेछिन्। विमला नेपाल बक्सिङ संघले गत पुसमा भएको राखेप च्याम्पियनसिप अन्तर्गतको २७औं पुरुष तथा आठौं महिला खुला बक्सिङ प्रतियोगितामा उत्कृष्ट फाइटर बनेकी थिइन्।

विमलाको यो पदकसँगै नेपालको अन्तर्रा्ष्ट्रिय बक्सिङमा पदकको खडेरी अन्त्य भएको छ। नेपालले धेरै पछि ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेको मुख्य प्रशिक्षक प्रकास थापा मगरले जानकारी दिए। 'बक्सिङको ठुला राष्ट्रले सहभागिता जनाएको प्रतियोगितामा विमलाले पदक जित्नु नेपालको लागि ऐतिहासिक हो। नेपालले बक्सिङमा धेरै पछि पदक जितेको छ।' थापाले भने।

थापाका अन्सार नेपालले भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेपछि यो पहिलो अन्तर्राष्ट्रिय पदक जितेको हो। प्रतियोगितामा नेपाल र आयोजक भारतसहित २३ राष्ट्रको सहभागिता रहेको छ।

प्रतियोगिताअन्तर्गत नै पुरुषतर्फ नेपालका पुरुषतर्फ विष्णु प्रसाद घलेले क्वाटरफाइनलमा स्थान बनाएका छन्। वेल्टर ६९ केजीका बिष्णुले अफगानिस्तानका वासुद्दीन घाव्सीलाई अंकको आधारमा ३ – २ ले पराजित गरे।

आइतबार राति नै भएको प्रतिस्पर्धामा अन्य दुई नेपाली महिला खेलाडी भने पराजित भएका छन्। महिला लाइट फ्लाइवेट ४८ केजी तौलकी ललिता महर्जन केन्याकी एन्जिभा भेरोनिका नबिथेसँग र लाइटवेट ६० केजीकी संगीता सुनार थाइल्याण्डकी पिमविलाई लावोपिमसँग अंकको आधारमामा पराजित भईन्।

सोमबार नेपालका ३ खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। नेपालका तेज बहादुर देउवा (४९केजी), प्रेम चौधरी (५२ केजी) र भुपेन्द्र थापा (६४ केजी) तौल समूहमा प्रतिस्पर्धा गर्दै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell