PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

डा केसी एलाइन्सको चेतावनी,‘बढी शुल्क लिने कलेजलाई ठगी तथा कालोबजारी मुद्दा’



पहिलोपोस्ट

डा केसी एलाइन्सको चेतावनी,‘बढी शुल्क लिने कलेजलाई ठगी तथा कालोबजारी मुद्दा’

काठमाडौं: सोलिडारिटी फर डा केसी अलायन्सले एमबीबीएस भर्नाको लागि तोकिएभन्दा बढी शुल्क लिने कलेजलाई कालोबजारी तथा ठगीमा मुद्दा चलाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै कुनै पनि हालतमा तोकिएको भन्दा बढी शुल्क नतिर्न विद्यार्थी तथा अभिभावहरुलाई आग्रह गरेको छ।

प्रेस विज्ञप्ती जारी गर्दै डा केसी अलाईन्सले कुनै पनि बहानामा विद्यार्थीहरु पढ्न नपाए कडा भन्दा कडा आन्दोलन गर्ने बताएको छ। 
    
आइओएम अन्तर्गतका मेडिकल कलेजहरुमा अहिले एमबीबीएस भर्ना चलिरहेको छ। भर्ना चलिरहँदा मेडिकल कलेजले तोकिएभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले प्रमाणसहित उजुरी गरिरहेका छन्।

सरकारले विद्यार्थीसँग उपत्यकाभित्रका मेडिकल कलेजमा ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँ लिन पाउने व्यवस्था गरेको छ।

विद्यार्थीलाई कलेजले सार्वजनिक गरेको बैंक खातामा ५० प्रतिशत पहिलो किस्ता बापत जम्मा गरी अनलाइन प्रक्रियाद्वारा भर्ना हुन भनिएको छ।  

विद्यार्थीको दबाब र गुनासोपछि आइओएम डिन कार्यालय शीर्षक नै तोकेर शुल्कबारे स्पष्ट पारेको थियो।

काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुले सरकारले तोकेभन्दा बढी शुल्क निर्धारण गरेका छन्। त्यस्तै विराट र नोबेल मेडिकल कलेजले मेडिकल काउन्सिलले दिएकोभन्दा बढी सिटमा भर्ना लिएका छन्।  अवैध रुपमा काम गर्ने यस्तो कलेजको विषयमा गम्भीर आपत्ति रहेको डा केसी एलाइन्सले बताएको छ।

अवैध रुपमा भर्ना भएका विद्यार्थीहरुलाई मेडिकल काउन्सिलले  लाइसेन्स नदिने भएकाले त्यस्ता विद्यार्थीहरुलाई भर्ना रद्द गर्न आग्रह गरेको छ।


त्यस्तै डाक्टर्स सोसाइटीले त्रिवि पधाधिकारीहरुले आइओएमको डिनको कार्यसम्पादनमा गरेको अवरोधको पनि  ध्यानाकर्षण भएको बताएको छ। 

विज्ञप्तीमा भनिएको छ, ‘आइओएमको कार्य सम्पादन प्रभावित भई संस्था नै अस्तव्यस्त हुने अवस्था सिर्जना भएकाले तत्काल त्यस्तो अवरोध रोकी सहज कार्य सञ्चालनको वातावरण मिलाउन त्रिवि पदाधिकारीहरुको ध्यानाकर्षण गराउन चाहन्छौं । यदि यस्तो अवरोध जारी रहेमा आउन सक्ने परिस्थितिले त्रिवि पदाधिकारीहरु मात्र नभई अहिलेको असहज परिस्थिति उत्पन्न गर्न जिम्मेवार राज्यका विभिन्न अंगका सबै पदाधिकारीहरुलाई जवाफदेही बनाएरै छाड्ने पनि जानकारी गराउन चाहन्छौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell