काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य विमल घर्ती मगर भारतीय फुटबल लिग आइ लिग खेल्न कोलकता पुगेका छन्। उनलाई मोहन बगानले यस सिजनको बाँकी समयको लागि दुई दिन अगाडि अनुबन्ध गरेको हो।
विमलले सोमबार क्लबले गरेको पत्रकार सम्मेलनमा मोहन बगान आउन पाउँदा खुशी लागेको र खेल्न उत्साहित भएको बताए। ‘मोहन बगान लेजेण्ड क्लब हो। म यहाँ आउन पाउँदा खुशी छु। क्लबका लागि म आफ्नो शतप्रतिशत दिन्छु। म राम्रो खेल्नेछु र अझै अगाडि बढ्न चाहन्छु,’
विमलले भने, ‘मलाई यहाँ आउँदा कुनै दबाब छैन। भर्खर त मलाई अवसर मिलेको छ। अब मलाई प्रमाणित गरेको देखाउने चुनौती छ। म पहिलो पटक भारतमा आइ लिग खेल्न आएका हुँ।‘
विमलले मोहन बगानको टिमको खेल हेरेको तर खेलाडीको बारेमा भने जानकारी नभएको बताएका छन्। उनले पहिलो पनि आइ लिगमा खेल्ने योजना बनाएको र त्यो अहिले सफल भएको बताए।
विमलले आइ लिग क्लब मिनेर्भा पञ्जावमा रहेका नेपाली गोलकिपर किरण चेम्जोङसँग पनि भेट्ने बताएका छन्।
उनलाई भारतको कुन खेलाडी मन पर्छ भन्ने प्रश्न सोधिएको थियो जसमा विमलले भने, ‘मलाई सुनिल क्षेत्री मन पर्छ।’
यसैगरी विमलले आइपीएलमा छनोट भएका पहिलो नेपाली खेलाडी सन्दीप लामिछानेको बारेमा प्रश्न गर्दा आफूहरु एकै ठाउँबाट भएको र 'गुड फ्रेण्ड' भएको प्रतिक्रिया दिए।
विमल सोमबारै मोहन बगानको ट्रेनिङमा सहभागी भएका थिए।
मोहन बगानले गरेको पत्रकार सम्मेलनमा विमल घर्ती मगर भिडियोमा हेर्नुस्