PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

प्राक्टिस म्याचमा पारस खड्काको ५ विकेट, नेपाल विजयी



पहिलोपोस्ट

प्राक्टिस म्याचमा पारस खड्काको ५ विकेट, नेपाल विजयी
फोटो : रमन शिवाकोटी

काठमाडौं : दिलिप नाथ, अनिल कुमार शाह, रोहित कुमार पौडेल र करण केसीको सुझबुझपूर्ण ब्याटिङ तथा कप्तान पारसको उत्कृष्ट बलिङ मद्दतमा नेपालले युएई 'ए' टिमलाई पराजित गरेको छ।

डिभिजन टूको तयारीका लागि युएईमा रहेको नेपाली टोलीले मंगलबार भएको पहिलो प्राक्टिस म्याचमा त्यहाँको ए टोलीलाई २५ रनले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा अलआउट हादै २२५ रन बनाएको थियो। जवाफमा पारस खड्काले ५ विकेट लिएपछि युएई ए ८ बल बाँकी छदा २२१ रनमा अलआउट भयो।

नेपालका लागि ब्याटिङमा ओपनर दिलिप नाथले सर्वाधिक ६१ रन बनाए। बलिङमा कप्तान पारसले ५ विकेट लिए।

पुन: एकपटक नेपालको ओपनिङ जोडी चल्ल नसक्दा नेपालले २६ रन हुँदा ओपनर ज्ञानेन्द्र मल्लाई १८ रनमा गुमाएको थियो। त्यसपछि दीलिप नाथले अनिल शाहसँग दोस्रो विकेटका लागि ६० रनको साझेदारी गरे दीलिपले ६० बल खेल्दै ९ चौका र १ छक्काको मद्दतमा ६१ रन जोडे। अनिलले ३१ रन बनाए भने कप्तान पारसले २० रन जोडे।

९६ रन हुँदा २ विकेट मात्र गुमाएको नेपालले १३६ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो। तर पहिलो पटक राष्ट्रिय टीममा खेलिरहेका रोहित कुमार पौडेलको ४३ रन तथा करण केसीको आक्रमक ३६ रनको मद्दतमा नेपालले मध्यम स्कोर बनायो।

रोहितले ५१ बल खेल्दै ६ चौका प्रहार गरे। १६ बल खेलेका करणले ४ चौका र २ छक्काको मद्दतमा ३६ रन बनाए। बसन्त रेग्मीले २१ रनको योगदान गरे।

बलिङमा युएई ए का लक्ष्मण श्रीकुमारले ३ तथा मोहम्मद क्वासिम  र कार्थिक मयप्पनले २-२ विकेट लिए।

युएई ए का लागि नेल लोबोले सर्वाधिक ५९ रन बनाए। उनले ९० बल खेल्दै ४ चौका प्रहार गरे। यस्तै चिराग सुरीले ४५ तथा फहद नवाजले ३६ रन जोडे।

युएई ए लाई अलआउट गर्न नेपालका कप्तान पारसले ९.४ ओभर बलिङ गर्दा १ मेडन राख्दै ३६ रन खर्चेर ५ विकेट लिए। यस्तै दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell