PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

उपाधि होडमा रहेका एपीएफ र न्यु डायमण्डको दोहोरो जित



पहिलोपोस्ट

उपाधि होडमा रहेका एपीएफ र न्यु डायमण्डको दोहोरो जित

काठमाडौं : उपाधि होडमा रहेका दुई बलिया टोली सशस्त्र प्रहरी बलको एपीएफ र शिवम् न्यू डायमण्ड एकेडेमीले १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगितामा बिहीवार दोहोरो जित हात पारेका छन्।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा भएको खेलमा विभागीय टिम एपीएफले दुवै खेलमा अर्को विभागीय टोली आर्मीलाई ३–० को सोझो सेटमा हरायो। प्रतियोगिताको एपीएफ र आर्मीबीचको पहिलो चरणको खेलको खेल वर्षाको कारण स्थगित भएपछि आज खेलाइएको थियो। जसमा एपीएफले आर्मीलाई २५–१२, २५–२०, २५–१९ को सेटमा हरायो। दोस्रो चरणको लिगको खेलमा पनि जित हार्ने क्रममा एपीएफले आर्मीलाई २५–१४, २५–१७, २५–१८ को स्कोरमा पराजित गर्‍यो।

यसैगरी नैकापको न्यू डायमण्डले चितवनको मेघौली र पश्चिमाञ्चलको टप्स उच्च माविलाई ३-० को समान सेटमा हरायो। न्यू डायमण्डले पहिलो खेलमा मेघौलीलाई २५–२२, २५–२२, २५–२० को सेटमा पराजित गर्दा दोस्रो खेलमा टप्स उच्च माविलाई २५–२०, २५–२३, २५–८ को सेटमा हरायो।

बिहीवारै भएको अर्को खेलमा पुलिसले मेघौलीलाई सोझो सेटमा पराजित गरेको छ। पुलिसले मेघौलीलाई २५–११, २५–८, २५–१६ को स्कोरमा पराजित गर्‍यो।

१६ खेल खेल्दा १५ जित तथा १ हार बेहोरेको न्यू डायमण्ड ४६ अंकका साथ शीर्ष स्थानमा कायमै छ। अपराजित रहदै १४ खेल जितेको एपीएफले ४१ अंक जोडेर दोस्रो स्थानमा छ।

लिगमा अब न्यू डायमण्डले एक तथा एपीएफले ३ खेल खेल्न बाँकी छदा यी दुईबीच उपाधि होड रोचक बनेको छ। एपीएफले शुक्रबार श्रीगाउँ र टप्ससँग खेल्नेछ। यी दुई खेल सोझो सेटमा जिते एपीएफले ४७ अंक जोड्नेछ। यसो भएमा न्यू डायमण्डसँगको अन्तिम खेल रोमाञ्चक हुनेछ। डायमण्डले अब एपीएफसँग खेल्न बाँकी छ। यी दुईको खेल शनिवार हुनेछ।

त्यस्तै, १४ खेल खेल्दा ११ मा जित र ३ हारको नतिजा निकालेको टप्स ३३ अंकका साथ तेस्रो स्थानमा छ। लिगको चौथो स्थानमा रहेको पुलिसको १४ खेलबाट १० मा जित र ४ खेलमा हारसहित ३० अंक रहेको छ। यता, श्रीगाँउ १७ खेलबाट ७ खेलमा जित र ८ खेलमा हार ब्यहोर्दै २१ अंकको साथमा लिगको पाचौं स्थानमा छ भने छैटौ स्थानमा रहेको मेघौलीको १६ खेलबाट ४ खेलमा जित र १२ खेलमा हारसहित १३ अंक रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell