मोहमद शहालहले दुई गोल गरेपनि लिभरपुल प्रिमियर लिग खेलमा गएराति टोटनहम हट्सपरसँग २-२ गोलको बराबरीमा रोकिएको छ। टोटहमका लागि ह्यारी केनले इन्जुरी टाइमको पाँचौ मिनेटमा पेनाल्टीबाट बराबरी गोल फर्काएपछि लिभरपुल जितबाट बन्चित भएको हो।
घरेलु मैदान एनफिल्डमा खेलको तेस्रो मिनेटमै शलाहले गोल गर्दै लिभरपुलललाई अग्रता दिलाएका थिए। टोटनहमले बराबरी गोल फर्काउन ८०औँ मिनेटसम्म कुर्नुपर्यो।
टोटनहमका लागि भिक्टोर वानयमाले बराबरी गोल गरेका थिए। ८७औँ मनेटमा टोटनहमले अग्रता लिने मौका पाएको थियो। लिभरपुलका गोलरक्षक लोरिस कारिएसले ह्यारी केनलाई डि एरियाभित्र फल गरेपछि टोटनहमले पेनाल्टी पाएको थियो तर केनको पेनाल्टी लोरिसले नै सेभ गरे।
इन्जुरी टाइमको पहिलो मिनेटमा शलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए। तर त्यो घरेलु टोलीलाई जित दिलाउन पर्याप्त बनेन। इन्जुरी टाइमको पाँचौ मिनेटमा टोटनहमले पुन: पेनाल्टी पायो। यसपटक केन चुकेनन् र सहजै गोल गर्दै लिभरपुलसँग अंक खोस्न सफल भए।
बराबरीपछि २६ खेलबाट ५१ अंक जोडेको लिभरपुल चेल्सीलाई १ अंकले पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ। यद्यपी चेल्सीले एक खेल कम खेलेको छ। २६ खेलबाट ४९ अंक रहेको टोटनहम पाँचौ स्थानमा छ।