काठमाडौं: आज सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा कूल एक हजार ६७७ मतदाता मध्ये ८ जना मतदानका लागि उपस्थित भएनन्। ८ मध्ये एक जनाको मृत्यु भइसकेको छ भने सात जना 'गयल' भएका हुन्।
यी हुन् मतदानमा गयल हुनेहरु
प्रदेश १
प्रदेश १ बाट तीन जनाले मतदान गरेनन्। संखुवासभा जिल्ला मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, ताप्लेजुङ जिल्ला मिक्वाखोला गाउँपालिकाकी उपाध्यक्ष रुद्रकुमारी साँवा र ताप्लेजुङबाट निर्वाचित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सांसद् विष्णु तुम्बाहाम्फे मतदान गर्न आएनन्। साँवा नेपाली कांग्रेसबाट विजयी भएकी हुन्।
सांसद विष्णुले आफ्नो पार्टीको उम्मेदवार कोही नभएको भन्दै मतदान गर्न गएनन्। यता संखुवासभा जिल्लाको मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवालको गत महिना एक दुर्घटनामा मृत्यु भइसकेको थियो। कटुवाल एमालेबाट निर्वाचित भएका थिए।
प्रदेश ४
प्रदेश ४ मा एक मतदाताले मतदान गरेका छैनन्। मनाङबाट निर्वाचित प्रदेश सांसद राजिब गुरुङ ( दीपक मनाङे) भने मतदानमा सहभागी भएनन्। उनी प्रहरीको फरार सूचीमा परेका सांसद हुन।
प्रदेश ५
प्रदेश ५ मा पनि दुई जनाले मतदाताले मतदान गरेका छैनन्। मुख्य निर्वाचन कार्यालय दाङका अनुसार अनुपस्थित हुनेमा राजपाबाट प्रदेश सभामा समानुपातिक सदस्य जितेकी बीना पन्त र संघीय समाजवादी फोरमबाट बाँकेको नरैनापुर गाउँपालिकामा अध्यक्ष जितेका इश्तियाक अहमद शाह रहेका छन्।
प्रदेश ७
प्रदेश ७ मा पनि दुई जनाले मतदात गरेका छैनन्। राजपाका प्रदेश सांसदहरु मालमती राना थारु र कृष्णकुमार चौधरी मतदान गरेनन्। उनीहरुले आफ्नो उम्मेदवार नभएको र अरु पार्टीले पनि मतदानको लागि खबर नगरेकोले मतदान गर्न नगएको बताएका छन्।