PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एक अर्बको राडर थाल्यो घुम्न, हवाई क्षेत्र थप सुरक्षित



रासस

एक अर्बको राडर थाल्यो घुम्न, हवाई क्षेत्र थप सुरक्षित
फोटो : www.aviationnepal.com

  • रमेश लम्साल/सिवी अधिकारी-
काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याएको दोस्रो पुस्ताको राडार सञ्चालनमा आएपछि मुलुकको हवाई क्षेत्र थप सुरक्षित र व्यवस्थित भएको छ। 

अनाधिकृतरुपमा नेपाल प्रवेश गर्न खोज्ने विदेशी जहाज तथा अन्य उडान सुरक्षामा समेत उक्त राडार प्रभावकारी देखिएको प्राधिकरणले जनाएको छ। यही माघ १८ गतेदेखि उक्त राडार सञ्चालनमा ल्याइएको हो। 

एयर ट्राफिक कन्ट्रोलर सीताराम भण्डारीका अनुसार दोस्रो पुस्ताको राडार सञ्चालनमा आएपछि हवाई क्षेत्र थप सुरक्षित र व्यवस्थित भएको छ। उनले भने, “एयर स्ट्रेस क्यापासिटी बढेको छ। एयर ट्राफिक म्यानेजमेन्टमा समेत थप सहजता आएको छ। विगतमा भन्दा सेवा पनि स्तरीय र प्रभावकारी देखिएको छ।” सबैभन्दा महत्वपूर्ण उपलब्धिका रुपमा निगरानी क्षमतामा समेत बढोत्तरी भएकाले नेपालको आकाश थप सुरिक्षत भएको प्राधिकरणको भनाइ छ। 

विगतमा रेडियो तरंगमार्फत सम्पर्क स्थापित गरिन्थ्यो भने हाल श्रव्य तथा दृश्य नै उपलब्ध हुने भएकाले जहाजको उडान अवस्थाका बारेमा सहजै जानकारी लिन सकिन्छ। हवाई सेवा सुरक्षित र भरपर्दो भएको जानकारी दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले प्रविधिको प्रयोग थप उचाइमा पुगेको बताए। 

जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा ललितपुरको भट्टेडाँडामा जडान गरिएको उच्च क्षमताका ‘टु जी राडार’ सञ्चालनमा ल्याइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल ६० एरोनटिकल माइल क्षमताको राडार सञ्चालनमा रहेकामा आजदेखि १२० एरोनटिकल माइलमा स्तरोन्नति भएको छ। नयाँ प्रणाली जडानसँगै आकाशमा जहाज ‘होल्ड’ गर्नुपर्ने समस्यासमेत क्रमशः अन्त्य हुँदै गएको छ।  

भट्टेडाँडाको आठ हजार २०० फिट अर्थात् दुई हजार ३०० मिटर उचाइमा जडान गरिएको राडार र अन्तर्राष्ट्रिय विमानस्थलमा जडित नयाँ प्रणालीको नियमित अनुगमन तथा परीक्षणसमेत भइरहेको छ। विगतमा रेडियो तरंगमार्फत वायुयानको जानकारी लिन सकिन्थ्यो भने हाल सञ्चालनमा रहेको राडारबाट श्रव्य दृश्यसहितको जानकारी लिने गरिएको छ। उक्त राडारको लागत रु एक अर्ब छ। 

राडारको गतिविधिबारे सात दिनसम्म नियमित अनुगमन गरी त्यसबाट प्राप्त भएको तथ्यांकलाई विश्लेषण गरिएको छ। “राडारको कामको सूक्ष्म अनुगमन नियमितरुपमा भइरहेको छ। यसको प्रभावकारिताका बारेमा विश्लेषण पनि भइरहेको छ। हवाई उडानमा केही सहजता थपिएको छ,” प्रवक्ता ठाकुरले भने। 

नयाँ राडारबाट काठमाडौंदेखि ४ सय ५० किलोमिटरको दूरीमा रहेको जहाजको अवस्थाबारे जानकारी लिन सकिएको छ। विभिन्न उचाइमा उडिरहेका जहाजको अवस्थाका बारेमा जानकारी लिन वा दिन सकिने भएपछि सहजता उत्पन्न भएको हो। भट्टेडाँडामा जडान गरिएको ‘इन रुट राडार’ र विमानस्थलमा जडित ‘टर्मिनल राडार’ले हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउने प्राधिकरणको भनाइ छ। 

नयाँ राडार सञ्चालनमा आएपछि देशका धेरै भू–भाग समेटिएको र उडान थप सुरक्षित हुने प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए। उनले हवाई सुरक्षाको क्षमता अभिवृद्धि भएको र ट्राफिक व्यवस्थापनमा समेत सहजता थपिएको बताए। “नेपालको हवाई आकाश सुरक्षित बनाउन यो प्रविधिले ठूलो भूमिका खेल्नेछ,” उनले भने। 

नेपालको पूर्वका सबै भू–भाग र पश्चिममा सुर्खेतसम्मको विमानको गति, उचाइलगायतका विषयमा जानकारी पाइएकाले पनि थप सुरक्षित र व्यवस्थित महसुस भएको प्राधिकरणको भनाइ छ। पुरानो राडारले करिब १ सय १० किमी (६० एरोनटिकल माइल) परसम्मको जहाजको अवस्था थाहा पाउन सकिन्थ्यो भने भट्टेडाँडामा जडान गरिएको नयाँ राडारबाट ४ सय ५० किमी (२५० एरोनटिकल माइल)सम्मको जहाजको सम्पूर्ण जानकारी पाउन थालिएको छ। 

निर्माणाधीन गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि हाल जडित राडारलाई विस्तार गर्ने योजना अगाडि सारिएको छ। उक्त विमानस्थलमै नयाँ राडार जडान गरेर देशको सबै उडान क्षेत्र समेट्ने तयारी पनि सँगसँगै भइरहेको छ। आगामी डेढ वर्षभित्र उक्त विमानस्थल सञ्चालनमा ल्याउने तयारी छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell