PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

समानुपातिक सांसद्ः एमालेले टुंगो लगायो, कांग्रेस र माओवादी अन्तिम गृहकार्यमा



पहिलोपोस्ट

समानुपातिक सांसद्ः एमालेले टुंगो लगायो, कांग्रेस र माओवादी अन्तिम गृहकार्यमा

काठमाडौँः राष्ट्रिय दलको मान्यताप्राप्त पाँच राजनीतिक दलहरु प्रतिनिधिसभातर्फ समानुपातिक सूचीलाई अन्तिम रुप दिन गृहकार्यमा जुटेका छन्। पाँच दलमध्ये नेकपा एमाले र संघीय समाजवादी फोरम नेपालले समानुपातिक सूचीलाई अन्तिम रुप दिइसकेका छन्। अन्य तीन दल भने आन्तरिक परामर्शमै छन्।

निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ समानुपातिक सदस्यको सूची बुझाउन आज अन्तिम समयसीमा तोकेको छ। एमालेले सदस्यको सूची निर्वाचन आयोगमा बुझाइसकेको छ।

कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपाल उम्मेदवार छनोटको अन्तिम गृहकार्यमा छन्।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ। बैठकले यसअघि आयोगमा पेश गरेका ११० मध्ये ४० जनाको नाम अन्तिम रुप दिएर आयोगमा पेश गर्नेछ। जसमध्ये कांग्रेसले समानुपातिकबाट २६ महिला सदस्य छनोट गर्नुपर्नेछ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालका अनुसार सोमबार दिउँसोसम्म नामावली निर्वाचन आयोगमा पठाउने तयारी छ। माओवादीले समानुपातिकमा १७ सिट पाएको छ। केही प्राविधिक विषय मिलाएर दिउँसोसम्म नामावली तयार पारिने भुसालले बताइन्।

राष्ट्रिय जनता पार्टीले पनि सोमबार नै नामावलीलाई अन्तिम रुप दिँदैछ। राजपाको अध्यक्ष मण्डलको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। सोही बैठकले समानुपातिक सदस्यको नामावली टुंगो लगाउँनेछ।

दलहरुले पेश गरेको नामावलीमा कुनै प्राविधिक त्रृटि भएमा बुधबारसम्म सच्याउने समय दिने निर्वाचन आयोगको तयारी छ। नामावली सच्याउने समय सकिएपछि आयोगले औपचारिक रुपमा सिफारिस सदस्यलाई विजयी भएको घोषणा गर्नेछ। परिणाम घोषणासँगै आयोगले अन्तिम मतपरिणाम राष्ट्रपतिलाई हस्तान्तरण गर्नेछ। प्रतिनिधिसभाको पूर्णतासँगै सरकार गठनको प्रक्रिया सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell