काठमाडौं: नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले विचार र संगठनात्मक संरचनामा एकरुपता नआएसम्म पार्टी एकताको प्रक्रिया जारी रहने बताएका छन्। आज राजधानीमा आयोजित नेपाल निर्माण उद्योग परिषद्को दोस्रो अधिवेशन कार्यक्रममा उनले पार्टी एकताको लागि विचार र संगठनात्मक संरचनामा छलफल भैरहेको बताएका हुन्।
पार्टी एकताका विषयमा अहिले बाहिर आएका विषयमा उनले भने, ‘अहिले बजारमा खुब कुरा चलेको छ। कुरा के चलेको छ भने, एउटाले प्रधानमन्त्री लिनु अर्कोले अध्यक्ष लिनु नि? मानिसहरुले पनि यी कुरामा खुब चासो दिएका छन्।’
उनले नेतृत्वको बाँडफाँटले मात्र पार्टी एक हुन नसक्ने तर्क गरेका छन्। पार्टी एकताको लागि विचार र संगठनात्मक संरचनामा दुई पार्टी एक ठाउँमा आउनु पर्ने बताए।
उनले भने, ‘पार्टी एकता हुन विचारको कमन फिटिङ हुनपर्यो। संगठनात्मक कमन फिटिङ चाहियो। गोठालाहरुले गाईवस्तु चराउन खोलातिर जादाँ अँगालो हाले जस्तो हो र? होइन नि। यसको लागि मेहनतपूर्वक काम भैरहेको छ।’
नेकपा एमालेको केन्द्रीय कमिटी दुई सयको छ भने माओवादी केन्द्रको चार हजारको केन्द्रीय कमिटी छ। उनले संगठनात्मक संरचना मिलाउने भनेको एक डालोबाट अको डालोमा धान खन्याए जस्तो नभएको बताए।
महसचिव पोखरलले पार्टी एकतापछि आलोपालो नेतृत्व गर्न नहुने समेत बताउदै आएका छन्। आज पनि उनले सोही कुरामाथि जोड दिँदै भने, ‘आलोपालो भनेको पार्टी एक हुन नचाहने मनस्थितिको कुरा हो। आलोपालो भनेको त पार्टी मोर्चामा रहँदा प्रयोग हुने शब्द हो। पार्टी एक भैसकेपछि त आलोपालो होइन नि।’