नेपालगन्ज : पाँचौ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलमा शिवम न्यू डायमयड एकेडेमी र सशस्त्र प्रहरीको एपीएफले विजयी सुरुवात गरेका छ। बिहीवार भएको उद्घाटन खेलमा न्यू डायमण्डले नेपाल पुलिसलाई ३–० को सोझो सेटमा हरायो।
डायमण्डले पुलिसलाई २५–१९, २५–१४, २७–२५ ले हरायो। अर्को खेमला एपीएफले बंगालदेशको इफाट महिला भलिबल क्लबलाई २५–९, २५–७, २५–११ ले हरायो।
न्यू डायमण्डका प्रशिक्षक कुमार राईको पहिलो रोजाईका खेलाडी कप्तान ललिता नाथ, प्रतिभा माली, मन्जु गुरुङ, कृपा अधिकारी, पनामिका राई, बालमिका आचार्य र लिब्रो सलिना श्रेष्ठ कोर्टमा उत्रिएका थिए।
न्यू डायमण्डले नेपाली टिमकी उपकप्तान पश्चिमान्चलकी कप्तान मन्जु गुरुङलाई आफ्नो टिमबाट खेलाएको थियो।
बिहीवार देखी नेपालगन्ज रंगशालामा सुरु प्रतियोगितामा नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, शिवम न्यू डायमण्ड, आयोजक टिम, बिदेशी टिममा बंगलादेश र भारत देहरादुतको टिमले प्रतिस्पर्धा गरिरहेको छन्।
प्रतियोगिता फागुनको ७ गते सम्म चल्नेछ। लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउनेछ। प्रतियोगिताको पहिलो पुरस्कार सुशील कोइराला स्मृती प्रतिष्ठानले प्रायोजन गरेको छ। प्रतियोगिताको समुह ए मा एपीएफ, बंगलादेश टिम र आयोजक रहेको छ। अर्को समुहमा नेपाल पुलिस क्लब, न्यू डायमण्ड र भारत देहरादुनको स्पोर्टस ट्रेनिज रहेको छन्।
प्रतियोगिताको उद्घाटन मिस नेपाल निकिता चाण्डक, प्रतिनिधी सभा सदस्य नन्दलाल रोकाय, क्षेत्रीय खेलकुद विकास समिती अध्यक्ष भीम ओली, आयोजक बाँके जिल्ला भलिबल संघ अध्यक्ष टीएस ठकुरी, नेपाल ओलम्पिक कमिटी कोषाध्यक्ष रतन टण्डन लगायतले गरेका थिए।