अष्ट्रेलियाले टि-२० इन्टनरनेशनल क्रिकेटमा अहिलेसम्मकै उच्च स्कोर गर्दै न्यूजिल्याण्ड विरुद्ध कीर्तिमानी जित हासिल गरेको छ।
ट्रान्स टासमान सिरिज अन्तर्गत शुक्रवार भएको खेलमा अष्ट्रेलियाले २४३ रनको लक्ष्य १८.५ ओभरमा चेज गर्दै शानदार जित निकालेको हो।
यसअघि सन् २०१५ मा वेष्ट इन्डिजले दक्षिण अफ्रिका विरुद्ध २३६ रनको लक्ष्य चेज गरेको थियो।
अष्ट्रेलियाको जितमा ओपनर डी आर्च सर्टले सर्वाधिक ७६ रन बनाए। सर्टले ४४ बल खेल्दै ८ चौका र ३ छक्का प्रहार गरे। यस्तै कप्तान डेविड वार्नरले २४ बलमा ४ ५९ रन बनाए। ग्लेन म्याक्सवेलले १४ बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा ३८ रन जोडे भने क्रिस लिनले १९ रनको योगदान गरे। आरोन फिन्चले १४ बलमा ३ चौका र ३ छक्काको मद्दतमा नटआउट ३६ रन बनाए।
त्यसअघि घरेलु मैदान अकल्याण्डमा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ओपनर मार्टिन गप्टिलको शतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर २४३ रन बनाएको थियो।
गप्टिलले ५४ बल खेल्दै ६ चौका र ९ छक्काको मद्दतमा १०५ रन बनाए। उक्श शतकसँगै गप्टिल टि-२० इन्टरनेशनलमा सर्वाधिक रन बनाउने खेलाडी बनेका हछन्। उनले न्यूजिल्याण्डकै ब्रेण्ड म्याकलमको २१४० रनको कीर्तिमान तोड्दै २१८८ रन बनाए हुन्।
यस्तै कोलिन मनरोले ७६ रन जोडे। अष्ट्रेलियाका केन रिचर्डसन र आन्द्रे त्येले २-२ विकेट लिए।
सिरिजमा ४ खेल जित्दै ८ अंक जोडेको अष्ट्रेलिया फाइनल पुगिसकेको छ। अब न्यूजिल्याण्ड र इंगल्याण्डबीच हुने अन्तिम खेलबाट फाइनल पुग्ने अर्को टिमको छिनोफानो हुनेछ।