इस्लामावाद : भारतीय सैनिकले विद्यार्थी बोकेको भ्यानमा आक्रमण गर्दा आफ्ना नागरिकले ज्यान गुमाएको बदला भन्दै पाकिस्तानी सेनाले लाइन अफ कन्ट्रोल (एलओसी) मा रहेको भारतीय सैनिक पोस्ट ध्वस्त पारेको छ। पाकिस्तानी सेनाले ५ भारतीय सेनाको मृत्यु भएको दावी समेत गरेको छ।
ताता पानी सेक्टरमा पाकिस्तानी सेनाले भारतीय सैनिक पोस्ट ध्वस्त पारेको दावी गरेको छ। इन्टर सर्भिस पब्लिक रिलेसन्स (आइएसपिआर) ले जनाएअनुसार पाकिस्तानी नागरिक मारिएकै क्षेत्रमा आक्रमण गरिएको हो। आइएसपिआर प्रमुख मेजर जनरल असिफ घफोरले पाँच भारतीय सैनिक मारिएको र अन्य घाइते भएको ट्विटबाट जानकारी गराएका छन्।
'सामान्य नागरिकविरुद्ध भारतीय आतंकवादले यस्तैगरी जवाफ पाउनुपर्छ,' उनले भनेका छन्। दुई निजी स्कुल र सरकारको डिग्री कलेजका विद्यार्थीमाथि भारतीय सैनिकले आक्रमण गरेको पाकिस्तानी अधिकारीको दावी छ। आक्रमणमा परी सवारी चालकको मृत्यु भएको थियो।