PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

वर्ल्डकप क्वालिफायरमा छनोट भएको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

वर्ल्डकप क्वालिफायरमा छनोट भएको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नामिबियामा भएको डिभिजन टू को शीर्ष दुई स्थानमा रहदै अर्को महिना हुने वर्ल्डकप क्वालिफायरमा छनोट भएको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। टोली शनिवार राति आइपुगेको हो। टोलीलाई विमानस्थलमा पूर्व खेलकुदमन्त्री तथा माओवादी नेता दलजित श्रीपाली लगायतले स्वागत गरे।

नामिबियामा सम्पन्न डिभिजन टू मा नेपाल उपविजेता बनेको थियो। लिगमा शीर्ष भएको नेपाल फाइनलमा युएईसँग पराजित हुँदै उपविजेता बनेको हो।

उपविजेता बनेपछि नेपालले अब मार्च ४ देखि जिम्वावेमा हुने वर्ल्ड कप क्वालिफायरमा समूह बी मा प्रतिस्पर्धा गर्नेछ। नेपालले मार्च ४ मा घरेलु टोली जिम्वावेसँग पहिलो खेल खेल्नेछ। यसैगरी नेपालले अफगानिस्तान. स्कटल्याण्ड र हङकङसँग पनि समूह चरणमा प्रतिस्पर्धा गर्नेछ।

नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले जुन लक्ष्यका साथ नामिबिया गएको थियो त्यो पूरा भएको प्रतिक्रिया दिए।

'हामी जुन लक्ष्य पूरा गर्ने सपनाका साथ गएका थियौँ, त्यो पूरा भएको छ। यो एकै दिनमा भएको थिएन हामीले लामो समय मेहनत गरेका थियौँ। सबै खेलाडीले राम्रो प्रदर्शन गरे।'

यस्तै नेपालका कप्तान पारस खड्काले पोटेन्सियल अनुसार खेलेको र सबैले राम्रो खेलेका कारण नतिजा हात पार्न सफल भएको बताए। 'एज ए प्लेअर हामीले राम्रो क्रिकेट खेल्यौँ। पहिलेदेखि भन्दै आएका थियौँ हामीसँग पोटेन्सियल छ भनेर। त्यसलाई कायम राख्दै वर्ल्डकप क्वालिफायरमा छनोट भएका छौँ। सबै जना उत्साहित छौँ। अब यस मोमेन्टमलाई कायम राख्दै अझ राम्रो प्रदर्शन गर्नेछौँ।'

प्रशिक्षक टमाटा र कप्तान पारसले वर्ल्डकप क्वालिफायर चुनौतीका साथै एउटा प्ल्याटफर्म भएको र त्यसमा आफ्नो क्रिकेटलाई कसरी देखाउने भन्ने नै मुख्य रहेको बताए।

यस्तै दुवै जनाले युवा खेलाडीको खुलेर प्रशंसा गर्दै नेपाली क्रिकेटको भविष्यका लागि राम्रो संकेत रहेको प्रतिक्रिया दिए।

प्रशिक्षक टमाटाले अब केही दिन रेस्ट गरेपछि क्याम्प सुरु गर्ने र फेब्रुअरी २४ मा क्वालिफायरको लागि जिम्वावे जाने बताए।  



ट्रेन्डिङ पोस्ट

Ncell