PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

सरकारको प्राथमिकता युग सापेक्ष विकास नीति – प्रधानमन्त्री ओली



पहिलोपोस्ट

सरकारको प्राथमिकता युग सापेक्ष विकास नीति – प्रधानमन्त्री ओली

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक जनताले लामो समयदेखि अपेक्षा गरेको राजनीतिक स्थिरता र समृद्धिको सपना साकार पार्ने युगमा प्रवेश गरेको बताएका छन्।

६८औँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले केन्द्रीकृत संरचनाको अन्त्य गरी मुलुक शासकीय ढाँचा परिवर्तन गरी विकासको युगमा प्रवेश गरेका बताएका हुन्। 

दिवसका अवसरका आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै ओलीले भने ‘तीनवटै तहको निर्वाचन सम्पन्न भई प्रत्येक तहका सरकार गठनको चरणमा हामी प्रवेश गरेका छौं। नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनैतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको छ।’

सम्बोधनमा प्रधानमन्त्री ओलीले मुलुकले अहिले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्ने प्रेरणा फागुन ७ बाटै प्राप्त भएको बताए। उनले तीनवटै तहका सरकारले आ–आफ्ना अधिकारका सीमा र सम्बन्धमा समन्वयात्मक तवरबाट शासन सञ्चालनको अध्यायको सुरुवात भइसकेको बताए।

मुलुकको विकास, प्रगति र समृद्धिको लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न उनले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई आग्रह समेत गरे।

उनले संविधान कार्यान्वयन समयसापेक्ष रुपमा गर्ने बताए। जनताको चाहना बमोजिम युग सापेक्ष विकास नीति तर्जुमा गर्ने पनि प्रधानमन्त्रीले बताए। अबको युग आर्थिक परिवर्तन, सामाजिक न्याय र सुशासनको युग हुने प्रधानमन्त्रीको भनाइ छ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रीहरु, नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रमुख लगायतको उपस्थिति रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell