फेरि ती दिन सम्झन चाहन्न …!

फेरि ती दिन सम्झन चाहन्न …!

सागर बुढाथोकी/पहिलोपोस्ट


काठमाडौं : रत्न राज्यलक्ष्मी क्याम्पसको रुम नम्बर ३। स्नातक तह प्रथम वर्षको कक्षामा छिन्, सीमा बस्नेत। छुट्टी भइसकेको क्लासमा साथीसँगै छिन् उनी। पोलिटिकल साइन्स र सोसोलोजी उनको मुख्य विषय।  

‘यसरी नै क्लासमा पढ्दै गर्दा अचानक एसिड परेको थियो,’ साथीलाई सुनाउँछिन्।

त्यो दिन आजकै मितिको थियो — फागुन १०। तीन वर्षअघि।

साथीहरु अनौठो मान्दै सुनिरहेका छन्।  

फागुनको महिनाको दिन। जाडो सकिएको थिएन। एसएलसी परीक्षा नजिकिँदै थियो। ट्युसन धाउन थालेको तीन दिनमात्र भएको थियो। गणितमा कमजोर उनी ‘आइरन गेट’ पास हुनकै लागि ट्युसन जान थालेकी थिइन्। 

जीवनको ‘टर्निङ पोइन्ट’ बन्यो त्यही ट्युसन क्लास। बच्चैदेखिको सपना त्यहीँ अन्त्य भयो।  कलिलो मुहार एसिड रापले क्षत विक्षत। सँगै ट्युसन पढ्ने संगीता मगरलाई गरिएको टार्गेटमा परिन् उनी।

सीमाले बोलिरहँदा कक्षा कोठामा सन्नाटा छाएको छ। साथीहरुको 'रियाक्सन' अनौठो। सीमा ‘नोस्टाल्जिक’ हुँदै आफ्नो अतित सुनाउँदै छिन्।

फागुन १० उनको जिन्दगीको कालो दिन। त्यसपछिका धेरै दिनहरु रोएरै बित्यो। हरेक दिन 'फ्रस्टेड' भइन्। अब विगत भूल्न चाहन्छिन्। यसको अर्थ आँसु रोकिएको भने हैन। दिक्क मान्छिन् जिन्दगीदेखि। विगत र भविष्य सम्झँदा वर्तमान समेत खल्लो भएको छ।  भन्छिन्, ‘फेरि त्यो दिन सम्झन चाहन्न।’

+++

दोस्रो दिन
वसन्तपुरको एक क्याफेमा गफिँदै छिन् सीमा। क्याफे नजिकै छ त्यो ट्युसन सेन्टर। त्यसैले एकोहोरो बनाएको छ। हिन्दी सिरियल 'सावधान इण्डिया'को पात्र जस्तो लाग्छ आफैलाई— निर्दोष पीडित र संघर्षशील।

‘संघर्ष! के गरी र सीमाले?’

प्रश्न गर्नेहरु नभेटेकी होइनन्। उनलाई थाहा छ — अचानोको चोट खुकुरीले बुझ्दैन। ‘काग कराउँदै जान्छ पिना सुक्दै जान्छ’ यही उखान सम्झेर चित्त बुझाउँछिन्। काम गरेर जवाफ दिने रणनीति छ उनको।

बाँच्नु नै संघर्ष बन्यो उनका लागि। मन र मष्तिकको द्वन्द्व न सतहमा नै देखिन्छ। त्यसैले सम्हालिन गरेको संघर्षलाई व्याख्या गर्ने शब्द छैनन् उनीसँग। आफ्नै विचारले गह्रौसँग थिच्छ तर सम्हालिन्छिन्।

केही दिनअघिको सीमाको फेसबुक स्टाटस् !

‘स्वार्थी समाजमा मलाई बाँच्नु छैन। हरेक मान्छे स्वार्थी छ।’

‘बाँच्न गाह्रै भएकै हो त?’

पिन ड्रप साइलेन्स! केही बेर चुप बस्छिन् र भन्छिन्, ‘कतिपय प्रश्नको जवाफ हुन्न। कतिपय पीडालाई शब्दले न्याय गर्न सक्दैन।’

अतितमा फर्किन्छिन उनी।

तीन वर्षअघिको फागुन १०। कुहिरो लागेर दिन धुम्म थियो। उनी बिहानै उठिन्। धारामा पानी थापिन्। र, गइन् ट्युसन पढ्न। क्लास अगाडि एकजना केटा मास्क लगाएर ओहोर दोहोर गरिरहेको थियो। क्लास खाली भएकाले त्यत्तिकै फर्किन्।
 
केही क्षणपछि फेरि गइन्। २ जना साथीहरु क्लासमा थिए। सीमाको उनीहरुसँग चिनजान भयो। संगीताले गोश्वारा भौचर भर्न सिकाउन थालिन्। त्यतिकैमा ढोका 'ड्वाङ्ग' गरेको आवाज आयो। त्यता हेर्न नपाउँदै अनुहार निथ्रुक्क भिजेको थियो।

फागुनको महिना होली नजिकिँदै थियो। ‘यति बिहानै कस्ले हान्यो लोला!’ सीमाको मुखबाट आवाज फुत्कियो। तर एकाएक भतभत पोल्न थाल्यो। त्यसपछि पो छाँगोबाट खसेजस्तै भइन्। सावधान इण्डिया सिरियलमा एसिड छ्यापेका केटीहरुको कुरुप अनुहार आखाँभरि नाच्न थाल्यो उनको। दौडिँदै घर पुगिन्।

अनुहारमा पानी छ्यापिन्। ऐनामा आफैँलाई हेरिन्। अनुहारमा राताराता दागहरु थिए।

‘थ्याकं गड! अनुहार हेर्न लायक रहेछ,’ सीमाले तीतो अतित सुनाइन्।

सहनै नसकिने गरी पोलिरहको थियो। आखाँबाट आँसु रोकिएन। तत्कालै वीर अस्पताल लगियो उनलाई।

अस्पतालमा संगीतालाई पनि देखिन्।

अनुहार डढेर कालो। हातको जलेर सेतो हड्डी देखिएको। विक्षिप्त संगीता। मन थाम्न सकिनन्। डाँको छोडेर रोइन्।

वीर अस्पतालमा उपचार हुँदै थियो। प्रहरी आएर सोध्थे।

‘तिमीलाई कसैले मन पराउँथ्यो?’

‘तिमीलाई कसैले प्रप्रोज गरेको थियो?’

‘कोही केटामाथि शंका छ?’

‘कोही केटालाई नराम्रो गरेको थियौ?’

एसिडले भन्दा प्रहरीको प्रश्नहरुले ज्यादा पोल्थ्यो। कसैप्रति शंका थिएन। प्रहरीको प्रश्नमा चुप बस्थिन्। संगीता बोल्न नसक्ने भएकै कारण दिनहुँ प्रश्न उनलाई तेर्सिन्थ्यो। लाग्थ्यो, यति धेरै माया गर्नेले पनि एसिड फ्याँक्छ र?

टोलतिर चर्चा चल्न थालिसकेको थियो– ‘तराईकी राम्री केटी, त्यसैलाई हान्यो होला एसिड। सीमाको कारण संगीता बर्बाद भई।'

तर, उनी प्रष्ट थिइन् संगिताको टार्गेटमा आफू परेको। 

अन्तत: एसिड प्रहार गर्ने जीवन बिक २६ दिनपछि प्रकाउ परे। नखाएको विषबाट बल्ल मुक्त। सन्तोषको सास फेरिन्।

+++

तेस्रो दिन
राष्ट्रिय सभा गृहमा महिला हिंसा सम्बन्धि कार्यक्रम भइरहेको छ। सीमा स्वयंसेवकका रुपमा छिन्।  थोरै समय निकालेर हामीसँग गफिन्छिन्।

पुस १६ गते सीमाको जन्मदिन। तर, फागुन १० मा केक काट्ने बताउँछिन्। फागुन १० लाई पुनर्जन्म मानेकी छिन् उनले।

‘फागुन १० पुनर्जन्म! केक काट्ने।’

‘जरुरी छ र?’

भन्छिन्, ‘त्यो दिन मेरो बच्चैदेखिको सपनाको मात्र हैन, पहिलो प्रेमको पनि अन्त्य भएको थियो।’

‘पहिलो प्रेम !’

भनिन्, ‘आजसम्म 'सरप्राइज' नै हो। तर, म यसलाई अझै सरप्राइज राख्न चाहन्न। पश्चाताप भएको छ मलाई।’

काठमाडौ आएको १ वर्ष नपुग्दै प्रेम प्रस्ताव आएको थियो। उनी रिसाइन्, वास्ता थिएन्। तर, केटाले २ वर्षसम्म पिछा छोडेन्। त्यसपछि प्रेम प्रस्ताव स्वीकार गरिन्। तीन महिना नपुग्दै घटना भयो।

प्रहरीले ‘तिम्रो ब्वाइफ्रेण्ड छ कि छैन?’ भन्ने प्रश्न बारम्बार गर्दा उसकै याद झल्झली आउँथ्यो। प्रेमीलाई बीचमा ल्याउने चाहना थिएन। एसिड प्रहार प्रेमीले गरेको हैन भन्नेमा प्रष्ट थिइन्।

अस्पतालबाट डिस्चार्ज भइन्। प्रेमीले साथ नछोड्ने बताए। तर, उनी ‘बिचरा’ बनेर बस्ने पक्षमा थिइनन्। जीवनमा आकस्मिक ब्रेक लागेको थियो। सपना मोडिएको थियो। जिन्दगीलाई ट्रयाकमा ल्याउन चुनौती थियो।

सीमाले त्यो केटालाई ‘गुडबाई फरेभर’ भनिन्। ‘ऊ जस्तो केटाले धेरै राम्रो केटी पाउँछ। म किन बोझ बनूँ। म उस्को लायक छैन।’ यही सोच नै ब्रेक अपको पहिलो कारण बन्यो।

उनी आफैलाई प्रश्न गर्छिन्— २ वर्षसम्म स्वीकार नगरेको प्रेम प्रस्ताव त्यति नै बेला किन स्वीकार गरेँ होला? यही कुराले पश्चाताप हुन्छ। अझै पनि पछ्याइरहेका छन् ती युवक। तर, कसैको हुने चाहना छैन। भन्छिन्, 'म आफ्नो हुन चाहन्छु मात्र आफ्नो। 'सरी' बाहेक केही भन्न सक्दिन उसलाई।'

‘किन त?’

भन्छिन्, ‘उद्देश्य मिल्दैन। म राजनीतिज्ञ बन्न चाहन्छु। उसको उद्देश्य फरक छ।’ ब्रेकअपको दोस्रो कारण।

+++
घटना हुनुपहिला सोझी थिइन्। सबैलै माया गर्थे।  अभाव भए पनि जिन्दगी रमाइलै बितिरहेको थियो। बाहिरी दुनियासँग संगत र चासो थिएन। सपना पछ्याउँदै अघि बढिरहेकी थिइन्। 

अकस्मातको त्यो घटनाले जिन्दगी बुझिन्। समाज बुझिन्। सोझी केटी परिपक्व र चलाख भइन्। थला परेर बस्न मनले मानेन्। भित्री मनबाट आवाज आयो –  उड्नु नै छ भने हिँड्न सिक्नुपर्छ। त्यही दिनबाट अनुहारमा आलो घाउ लिएर हिँड्न थालिन्। समाजले जे भने पनि बाल मतलब!

अस्पतालको ३७ दिन बसाइमै एसएलसीको तयारी गरिन्। त्यहीँबाट एसएलसी दिइन्। रिजल्टमा ब्याक देखायो। मौका परीक्षाले क्याम्पस पढ्ने बाटो खुलायो। 

अस्पतालमै हुँदा धेरै घटना घटे। सडकमा आन्दोलन भयो। जीवन बिक पक्राउ परे। रहस्यको गर्भमा रहेको घटनाको सत्यतथ्य बाहिर आयो। अदालतसम्म पुग्नुपर्‍यो। अदालतमा जीवन बिक उनलाई हेर्दै मुस्कान छोड्थ्यो। रीसको पारो चढे पनि गर्न सक्ने केही थिएन।

अदालतमै बिककी दिदीले भनिन्, 'के गर्नु नानी तिम्रो भाग्य नै यस्तो रहेछ।'

त्यो सुन्दा आँसु झरिहाल्यो।

एसएलसीपछि नोबेल कलेजमा छात्रवृत्ति पाइन्। पढाइसँगै  जिन्दगी चलिरहेको थियो। छिनमै दु:खी र छिनमै उत्साहित हुन्थिन्। के गर्दैछु र के गर्ने द्विविधामा थिइन्। आफ्नै सपनादेखि डराउँथिन्। सपनाको बोझले दिनहुँ थिच्थ्यो। खुशी आफ्नै कारणले हुन्थिन् भने दु :खी अरुको।

+++

चौथो दिन
आरआर कलेज परिसरको चिया पसलमा छिन् उनी। चियाको चुस्की लिँदै भारत यात्राको अनुभव सुनाउँदैछिन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् ‘एसिड भिक्टिम सोसाइटी’सँग सम्पर्क भयो। भारतमा एसिड भिक्टिमहरुको ‘ब्यूटी प्याजेन्ट’ हुँदै थियो। उनलाई पनि निमन्त्रणा आयो।  जाने कि नजाने ठूलो कन्फ्युजन! जाउँ एक्लै कसरी, नजाउँ बल्लबल्ल आएको मौका गुमाउने मन छैन।

मनमा डर र शंका बोकेर भारत जाने निर्णय गरिन्। सर्लाही मलंगवा, पटना हुँदै दिल्ली पुगिन्। कहिले एक्लै  नहिँडेकी बसमा एक्लै। मनमा डर भए पनि आत्मविश्वास गुमाइनन्।

नोयडामा थियो कार्यक्रम। 

‘ओ माइ गड ! कस्तो विभत्स! कस्ताकस्ता मान्छे! यस्तो पनि हुन्छ!’ विस्वासै लागेन।

सीमा आफूलाई नै 'प्राउड' फिल गर्न थालिन्। भनिन्, ‘मन शान्त भयो। यस्तो हुँदा त उनीहरु रमाइरहेका छन्। मलाई केही भएको छैन्। व्यर्थै तनाव झेलिरहेको रहेछु।’

‘जीवनमा एउटा ढोका बन्द भए हजार ढोका खुल्छ।' आजसम्म नबुझेको यही कुरा भारत पुगेपछि बुझिन्।

विभत्स अनुहार भएका धेरै किशोरी थिए त्यहाँ। सोधिन्, ‘सबैले वान साइडेड साइकोहरुको टार्गेटमा परेको जवाफ दिए।’ उनले भारत यात्राको तितो सत्य सुनाइन्, ‘लभ! लभ! लभ! सबै वान साइडेड लभको सिकार। निर्दोष किशोरीहरु सकसपूर्ण जिन्दगी बिताइरहेका थिए।’

+++

उनले धेरै अन्तर्वार्ताहरुमा भविष्यको योजना सुनाइन्। यो गर्छु र त्यो गर्छु भनिन्। अहिले पनि योजना रित्तिएको छैन। मात्र योजना सुनाउने ‘मुड’ छैन उनलाई। बुझिसकेकी छिन्— जीवन जति बुझ्दै गयो त्यति जटिल। भन्छिन्, ‘भविष्य के हुन्छ थाहा छैन। काम गर्न बोलेजस्तो सजिलो नहुने रहेछ। तर, राजनीति छोड्दिन।’

पढाई पूरा नगरी कतै हात नहाल्ने सोच छ। नेकपा एमाले सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्ध छिन्, समाजसेवा गर्ने चाहना। राजनीति र समाजसेवा फरक पाटो भए पनि आफूजस्तै पीडितहरुको लागि काम गर्न दुवै बाटो आवश्यक रहेको तर्क छ। भन्छिन्, ‘म जस्ताहरुको हितको लागि काम गर्न पनि राजनीति पनि आवश्यक छ।’

'अबको १० वर्षपछि कहाँ हुन्छिन त?'

'कन्फ्युजन!' भन्छिन्, 'सपनाको संसारमा बाँच्न पनि केही आधार चाहिन्छ। भर्खर त हिँड्न जान्दैछु। उड्ने कहिले हो कहिले।'

+++

पाँचौ दिन 
आरआर कलेजमा खेलकुद सप्ताह चलिरहेको छ। उनी पनि सहभागी छिन्। गेम हेर्दै गफिँदै छिन्।

राजनीतिमा भाग्य र कर्म दुइटै दह्रो हुनुपर्ने उनको तर्क छ। 'ह्या! केही हुन्न राजनीति गरेर लाग्छ कैहिलेकाहीँ।' सोच्दै भन्छिन्, 'राजनीतिबाहेक मेरो अर्को विकल्प छैन। राजनीति नै अन्तिम लक्ष्य हो।'

जीवन बिक बारेमा केही नबोल्ने सुझाव पाएकी छिन् परिवारबाट। जीवनभर खतरा हुने संकेत गरेका छन् साथीहरुले। भन्छिन्, 'डर केही छैन। जे नहुनु भइसक्यो।' अतितप्रति कुनै दुखेसो छैन्। भाग्य र समय कसैको दोष देख्दिनन्। नयाँ बाटोमा नडग्मगाइ हिँड्ने अठोट छ। जिन्दगीमा एउटै चाहना र उद्देश्य छ — अब कोही जीवन बिक नजन्मियोस्। कोही केटीले सीमा र संगीताको जस्तो भोग्नु नपरोस्।

यो पनि पढ्नुहोस् :

असुरक्षित छन् छोरीहरु

सपना देख्‍नका लागि त निदाउन पाउन पर्‍यो नि! एउटा संघर्षको कथा



ट्रेन्डिङ पोस्ट